काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई सरकारले प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने बताउनु भएको छ । 

आज दोलखास्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अवलोकन गर्दै प्रधानमन्त्री देउवाले ठूला जलाशयुक्त आयोजनाको विकासमा सरकार लागिपर्ने बताउनु भएको हो । उहाँले १२ सय मेगावाटको बूढीगण्डकी र ७५० मेगावाटको पश्चिम सेती लगायत लामो समयदेखि प्रक्रियामा रहेका आयोजनाको ठोस काम अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । ऊर्जा सुरक्षाका लागि उक्त आयोजना महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले अझै पनि झोलामा खोला राखेको र काम नभएको भन्ने आफूले सुनेको भन्दै त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लामो समयदेखि अगाडि बढ्न नसकेको विद्युत् खरिद सम्झौता पिपिएका सन्दर्भमा पनि उचित निर्णय लिइने स्पष्ट पार्नुभयो । 

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मधेस प्रदेश बाहेकका सबै प्रदेशमा ठूला जलाशयुक्त आयोजना निर्माण गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । व्यापार घाटा कम गर्न पनि नेपालको ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको र त्यसका लागि सरकार लागिपरेको मन्त्री भुसालको भनाइ थियो । 
यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनताको लगानीमा नै ठूलाठूला परियोजना अगाडि बढाउने तयारीमा प्राधिकरण रहेको बताउनु भएको छ । उहाँले त्यस्ता आयोजनामा स्थानीयवासीको व्यापक सहभागिता गराइने जानकारी दिनुभयो । 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसीले हालसम्म १ अर्ब युनिट बिजुली प्रवाह गरेको छ । कूल ४५६ मेगावाट क्षमताको उक्त आयोजना गत असारमा उद्घाटन गरिएको थियो । प्रधानमन्त्री देउवाले आजै उक्त आयोजना अन्तर्गत रामेछापको देविटारमा निर्माण सम्पन्न भएको नयाँ खिम्ती सब– स्टेसनको उद्घाटन समेत गर्नु भएको छ ।००००