काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणका क्रममा मन्त्री श्रेष्ठले नेपाली बिजनेस काउन्सिल, दुबईका पदाधिकारीहरूको भेटमा लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
काउन्सिलका अध्यक्ष डा. असिफ अली सिद्धिकी नेतृत्वमा नेपाली व्यवसायीले मन्त्री श्रेष्ठसँग वैदेशिक रोजगारीसँगै विदेशमा नेपाली उत्पादन र सेवाको बजार विस्तार गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताएका थिए।
वैदेशिक रोजगारमा जाने अदक्ष श्रमिकहरूले विभिन्न समस्या झेल्दै आएको भन्दै आवश्यक सीप–दक्षताको विकासमा पनि सरकारले ध्यान दिनुपर्ने बताए।
मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र व्यवस्थित र सुरक्षित गर्न आफू प्रयत्नशील रहेको बताए। मन्त्री श्रेष्ठले विदेशमा नेपालीले आर्जेको सीप र पुँजी नेपाल भित्र्याउन सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।
नीतिगत र व्यवहारिक पक्षमा लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। व्यवसायीहरूले यूएईमा भिजिट भिसाबाट सिर्जित समस्याको समाधान गर्न आग्रह गरे।
भिजिट भिसा सम्बन्धी समस्या समाधानका लागि यूएई सरकारसँग मिलेर काम गर्ने बताउँदै मन्त्री श्रेष्ठले सकेसम्म यूएई मै रोजगारी, ओभरस्टे भएर धेरै शुल्क बुझाउनुपर्ने भएकाहरूलाई मिनाहा गर्न र नेपाल लैजानैपर्नेहरूलाई उद्धारमा सहयोग गर्ने प्रतिबद्धता यूइई सरकारले जनाएको बताए।

