काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ ।

निर्देशन नमानेको भन्दै वाणिज्य बैंकहरुलाई कानुन बमोजिम कारबाही गरिएको राष्ट्र बैंक सुपरीवेक्षण विभागले जनाएको छ । ३ महिना अघि मुद्दती निक्षेपको ब्याजदर परिवर्तन गरेको, केही कम्पनीहरुको खाता रोक्का राख्न दिएको निर्देशन पालना नभएको, मुद्दती निक्षेप र साधारण निक्षेपको ब्याज अन्तर ५ प्रतिशतभन्दा बढी राखेको, निर्देशन अनुसार अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात कायम नगरेको लगायत विषयमा बैंकहरुलाई कारबाही गरिएको छ ।

कोभिडका कारण भन्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुनै पनि बैंकलाई कारबाही नगरेको राष्ट्र बैंकले दोस्रो त्रैमासबाट मात्र कारबाही सुरु गरेको हो । जसअनुसार अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात कायम नगरेको भन्दै प्रभु बैंकलाई १ लाख ८० हजार ४ सय ३० रुपैयाँ जरिवाना गरिएको छ ।

हाल बोलकबोलका आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था छ । उक्त व्यवस्था विपरित तीन महिना अघि मुद्दती निक्षेपको ब्याजदर परिवर्तन गरेको भन्दै नेपाल बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो ।००००