काठमाण्डौं । नेपाल राष्ट्र बैंकले पछिल्लो एक वर्षको अवधिमा बैंकहरुले दिने कर्जाको ब्याजदर औसतमा १.५६ प्रतिशतले बढेको जनाएको छ ।

गत आर्थिक वर्षको माघ महिनामा वाणिज्य बैंकहरको औसत आधार दर ६.४९ प्रतिशत रहेको थियो । जुन चालु आर्थिक वर्षको सोही अवधिमा ८.५३ प्रतिशत पुगेको राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । आधारदर बढेसँगै वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर समेत १.४२ प्रतिशतले वृद्धि भएको छ । लामो समयदेखि बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) को अभावमा कर्जाको माग अनुसार बैंकहरुले अहिले पनि निक्षेप संकलन गर्न सकेका छैनन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार माघ महिनासम्म निक्षेपको औसत ब्याजदर ६.९७ प्रतिशत कायम छ । जुन गत आवको सोही अवधिमा ४.८६ प्रतिशत कायम रहेको थियो । यस्तैमाघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर थप बढेको छ । पुस महिनामा ५.६५ प्रतिशत रहेको मूल्य वृद्धिदर मुद्रास्फीति माघमा ५.९७ प्रतिशत पुगेको हो ।

यस्तै यस वर्षको माघ महिनामा ४.९ प्रतिशतले रेमिट्यान्स घटेको छ । विदेशिने श्रमिकको संख्या बढे पनि रेमिट्यान्स भने घटेको राष्ट्र बैंकले जनाएको छ । यस वर्ष साउनदेखि माघसम्म ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ मात्रै रेमिट्यान्स नेपाल आएको छ । गत वर्षको यस्तै अवधिमा रेमिट्यान्स आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । गत वर्ष माघ महिनासम्म ५ खर्ब ६७ अर्ब ७० करोड रेमिट्यान्स भित्रिएको थियो । माघसम्म २ लाख जना नेपाली नयाँ काम पाएर विदेश पुगेका छन् । अघिल्लो वर्षको यही अवधिमा विदेशिने नेपालीको संख्या ८५.४ प्रतिशतले घटेको थियो ।००००