काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आजदेखि बढेको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता नलिए गाडी भाडा आफैं बढाउने चेतावनी दिएको छ ।

महासंघका महासचिव सरोज सिटौलाले बढेको मूल्य सरकारले फागुन २५ गतेसम्म फिर्ता नलिए आफैं गाडी भाडा बढाउने बताउनु भएको हो । पटक–पटक पेट्रोलियम पदार्थको मूल्य बढे पनि गाडी भाडा नबढ्दा यातायात व्यवसायीले धान्न नसक्ने अवस्था आएको उहाँको भनाइ छ ।

नेपाल आयल निगमले हिजो मध्यरातदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर १३३ रुपैयाँ तोकिएको छ । यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ पुगेको छ । इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएकोले मुल्य बढेको निगमले जनाएको छ ।

यता, इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको भन्दै पेट्रोलियम व्यवसायीहरुले अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धन ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले हिजोरातिबाट इन्धनको मूल्य बढाए पनि प्रतिशतमा बिक्रेतालाई दिइँदै आएको कमिसन पुरानै यथावत् राख्ने निर्णय गरेपछि व्यवसायीहरुले देशभरनै इन्धन ढुवानी बन्द गरेका हुन् । बिक्रेताहरुले मूल्य वृद्धिको आधारमा प्रतिलिटर ३.१४ प्रतिशत कमिसन पाउँदै आएका थिए ।

यता, निजी पम्प व्यवसायीले ढुवानी अवरोध गरेपनि सरकारी स्वमित्वका संस्था तथा कम्पनीका पम्पहरुले भने इन्धन ढुवानी नियमित राखेका छन् । निगमको थानकोट डिपोका अनुसार आज मध्यान्हसम्म नेपाली सेना, नेपाल प्रहरी र साझा सहकारीका पेट्रोल पम्पहरुले दुई लाख लिटर डिजेर र पेट्रोल खरिद गरेका छन् । यस्तै उपत्यकाबाहिर पनि प्रहरी, सेना र साझा तथा निगमको पम्पहरुले ढुवानी र बिक्री नियमित राखेका छन् । कमिसन विवादबारे निजी व्यवसायीहरुसँग पनि निगमको केन्द्रीय कार्यालय टेकुमा वार्ता सुरु भएको निगमले जनाएको छ ।००००