काठमाण्डौ । नेपालमा कोरोना संक्रमणको दर कम भएसँगै पर्यटन क्षेत्र पुनः चलायमान हुन थालेको छ ।

कोरोनाको तेस्रो लहरको असहज परिस्थितिमापनि विदेशी पाहुना आउन थालेसंगै पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखिएको हो । कोरोनाको नयाँ भेरियन्ट कम भएसंगै विदेशी पाहुनाहरु आउन थालेको होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले बताउनुभयो ।

कोरोना महामारीले थलिएको पर्यटन क्षेत्रमा फेरि नयाँ भेरियन्टले पुनः संकटतिरै धकेल्छ की भन्ने त्रासमा पर्यटन व्यवसायीहरु रहेका थिए । कोरोना संक्रमण घटेसंगै विदेशी पर्यटक आउन थालेको भन्दै पर्यटन व्यवसायी उत्साहित बनेका छन्  कोभिड विरुद्धको खोप आधाभन्दा बढी जनसंख्याले लगाइसकेकाले यसको प्रभाव कम भएकोले पर्यटन क्षेत्र पनि विस्तारै चलायमान हुने व्यवसायीहरुको अनुमान छ ।

पर्यटन बोर्डको पछिल्लो तथ्यांकले पनि नेपालमा विदेशी पर्यटकको आगमन अघिल्लो वर्षको तुलनामा बढ्न थालेको देखाएको छ । अहिले पर्यटकीय सिजन भएकोले पर्यटकको आगमन पनि बढ्न थालेको पर्यटन बोर्डले जनाएको छ । सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ र सन् २०२० मा २ लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।००००