काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइटका लागि प्राविधिकहरूले अन्तिम प्रशिक्षण लिइरहेका छन् । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिएपछि क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ र आगामी फागुन ९ गते क्यालिब्रेशन फ्लाइट गर्ने तयारी छ ।
क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो ।
यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्नुपर्छ । एरो थाइले क्लालिब्रेशन फ्लाइट गर्ने अनुमति पाएसँगै परीक्षण उडानको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।
विमानस्थल विस्तार आयोजनाका अनुसार अहिले क्यालिब्रेशन फ्लाइटका लागि आवश्यक पर्ने जनशक्तिलाई अस्ट्रियाका प्राविधिकले प्रशिक्षण दिइरहेका छन् । त्यस्तै क्यालिब्रेशन फ्लाइटकै तयारीका लागि एरो थाइका चारजना प्राविधिक पनि भैरहवामै छन् । विमानस्थलमा आइसिवी–१ र आइसिवी–२ अन्तर्गतको सम्पूर्ण काम सकिएको आयोजना प्रमुख प्रवेश घिमिरेले जानकारी दिए । उनका अनुसार क्यालिब्रेशन फ्लाइटकै दिन आयोजना हस्तान्तरणको मितिसमेत तोकिने छ ।
एरो थाइका नेपाल प्रतिनिधि विजेन्द्र श्रेष्ठका अनुसार अहिले क्यालिब्रेशन फ्लाइटका लागि ग्राउन्ड चेक, भिजिविलिटी चेकलगायतको काम भइरहेको छ । मौसम अनुकूल हुनासाथ फागुन ९ गतेअघि नै हवाईजहाजलाई नेपाल ल्याउने उनले बताए । क्यालिब्रेशन फ्लाइट लगत्तै नेपाल एयरलाइन्सको ठूलो विमानबाट विमानस्थलको परीक्षण गरिने र त्यसपछि अधिकतम ५६ दिन वा न्यूनतम ४२ दिनपछि विमानस्थलमा नियमित उडान गरिने छ ।

