काठमाडौँ । बेमौसमी तरकारी कुरिलो किलोकै २५ सयदेखि ९ हजारसम्म पुगेको छ ।
बजारमा कुरिलोको मूल्य फरकफरक छ– कतै २५ सय रुपैयाँ किलो त कतै ९ हजारसम्म । बेमौसममा माग बढेकाले महँगो भएको व्यवसायी बताउँछन् । सिजनमा कुरिलो खुद्रा पसलेदखि डिपार्टमेन्टल स्टोरसम्म पाइन्छ । बेमौसम भएकाले पनि यतिबेला जहाँतहीं पाइँदैन ।
कालीमाटी तरकारी बजारस्थित खुद्रा पसलमा कुरिलो किलोकै २५ सयदेखि ४ हजार रुपैयाँसम्म पर्छ । बल्खु तरकारी बजारमा किलोको ८ हजार रुपैयाँ पर्छ । महँगो भएपछि अर्डरअनुसार मात्र कुरिलो ल्याउने गरिएको बल्खु तरकारी बजारकी एक व्यापारीले बताइन् । ‘महँगो छ, सजिलै बेच्न सकिँदैन, त्यसैले अर्डरअनुसार मात्र ल्याउँछौं,’ उनले भनिन्, ‘मैले ल्याउने ठाउँमा ८ हजार रुपैयाँ किलो छ, अफ सिजनको कुरिलो अरू देशकै हो ।’
उपत्यकाका मुख्य तरकारी बजारहमा कुरिलो पाइए पनि ससाना पसलेले बेचेका छैनन् । शंखमूलकी सुनिता खतिवडाले थोकमै महँगो पर्ने भएकाले कुरिलो बेचेकी छैनन् । ‘पाउकै १८ सय पर्छ, एक सातालाई तरकारी किन्न पुग्ने पैसा एक पाउमा कसैले खर्च गर्दैनन्,’ उनले भनिन्, ‘आवश्यक नै परेकाले मात्र किन्ने हो ।’ सिजनमा २ सय ५० रुपैयाँसम्ममा पाइने कुरिलो बेमौसममा ९ हजार रुपैयाँसम्म पुग्ने गरेको उनले सुनाइन् ।
कोरोनाका बिरामीलाई खुवाउन प्रयोग गरिएकाले पनि कुरिलोको माग बढ्दो छ । संक्रमितलाई चिकित्सक तागतिला खानेकुरा र अझ झोलिलो खान सल्लाह दिन्छन् । तागतिला झोलमा कुरिलोको प्रयोग उत्तम मानिएको छ । संक्रमित र उस्तै लक्षण देखिएकाको संख्या बढ्दा तागतिलो खाद्यपदार्थका लागि कुरिलोको माग उच्च भएको व्यापारी सुनाउँछन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गर्ने मूल्यसूचीमा पुस ६ मा कुरिलो प्रतिकिलो मूल्य न्यूनतम १४ सयदेखि १५ सय रुपैयाँ थियो । त्यसपछि मूल्य अद्यावधिक गरिएको छैन । कुरिलो पुस ६ सम्म मात्रै आएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । त्यसपछि थोक बजारमा आएको छैन । खुद्रा व्यापारीले अन्यत्रबाटै ल्याएर बेचिरहेको उनको भनाइ छ ।

