काठमाडौँ - नेपालमा वर्षात्का बेला बिजुली खपत हुन नसकी खेर फाल्नु परिरहेका बेला लगानी बोर्डले भारतबाट आयातीत ग्यास प्रयोग गरी रासायनिक मल कारखाना स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ भने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चाहिँ मल कारखाना निम्ति आवश्यक पर्ने विद्युत् सस्तोमै उपलब्ध गराउन सकिने बताउँछन् ।
यसका लागि बोर्डले एक समिति बनाई प्रस्तावलाई अन्तिम रुप दिने तयारी गरेको छ । समितिले आयातीत ग्यासबाट रासायनिक मल उत्पादन सस्तो पर्ने देखाई स्वदेशमा उत्पादित विद्युत्लाई उपेक्षा गर्न लागेको बोर्ड स्रोतले बतायो । यो वर्ष स्वदेशमा खपत हुन नसकी ७ सय मेगावाटको बिजुली खेर फाल्नु परेको थियो । आगामी वर्ष एक हजार मेगावाट बिजुली जगेडा हुने अनुमान छ । एउटा रासायनिक मल कारखानाले २ सय मेगावाटसम्म बिजुली खपत गर्न सक्छ ।
बोर्डका सहायक प्रवक्ता रमेश अधिकारीले प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी भएको र आगामी साता बोर्ड समक्ष पेश गरिने बताए । ‘एउटा अध्ययन भएको छ, त्यसको प्रतिवेदन अन्तिम चरणमा पुगेको छ, हामी हप्ता दिनभित्र त्यसलाई सार्वजनिक गर्नेछौं, अधिकारीले भने, ‘यो प्रतिवेदनले कारखाना स्थापनासम्बन्धी मोडालिटी तय गर्नेछ ।’

