काठमाण्डाै – कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान स्थगित भएको छ । प्राविधिकलगायतका विभिन्न कारणले खोप अभियान स्थगित गर्नुपरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

आज मङ्गलवारदेखि खोप लगाउन सुरु गर्न भनेर हिजो साेमवार देशभरि नै पत्राचार गरिएकोमा कतिपय पालिकाले लगाउन सुरुसमेत गरिसकेका थिए । तर दिनभर आएको प्रतिक्रियाअनुसार कतिपय ठाउँमा एक मात्रासम्म नपाइएको अवस्थामा अतिरिक्त मात्रा लगाउँदा प्राविधिक रूपमा समेत नमिलेको जस्तो भएर माघसम्मका लागि अभियान स्थगित गरिएको उहाँले बताउनुभयो ।

माघपछि कसरी लगाउने र के गर्ने भनेर फेरि छलफल गरेर मात्र निर्णय गरिने उहाँको भनाइ छ । अतिरिक्त मात्रा खोप अभियान रोकिए पनि कोरोनाको अरू नियमित खोप अभियान भने सञ्चालन भइरहने सहप्रवक्ता अधिकारीले बताउनुभयो ।

अतिरिक्त मात्रा खोप मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी र उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि प्रयोग गरिरहेका बिरामीहरूले पाउने भनिएको थियो ।No photo description available.