काठमाडौं। गायक राजेश पायल राईलाई दुर्व्यववहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन्। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा सांगितिक प्रस्तुती दिईरहेका बेला राईमाथि दुर्व्यवहार गरेका दावा शेर्पाले माफी मागेका हुन् ।

उनले गायक राजेश पायल राईलाई भेटेर आफू गायक राईको ठूलो प्रशंसक रहेको र अन्जानमा गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन्। माफी मागेपछि राईले मान्छेबाटै गल्ती हुने भन्दै माफी दिएको बताएका छन्। 

गायक राईले भनेका छन् ‘अस्तिको घटनाबारे उहाँले माफी मागिसक्नु भएको छ’, गायक राईले भनेका छन्, ‘सम्पूर्णलाई हामीहरू मिलिसकेको कुरा जानकारी गराउन चाहन्छु, मैले उहाँलाई माफी दिएको छु। मैले आम माफी दिइसकेको छु। उहाँले खुट्टै ढोग्छु पनि भन्नुभयो। तर पर्दैन मेरा फ्यानहरूलाई अब उप्रान्त उहाँलाई गाली गलौज नगरिदिनुहोला’, गायक राईले भने, ‘मेरो शीर ढलोस्, नेपाली गीतसंगीत र नेपाल कहिल्यै नढलोस्।’ 

नयाँ वर्षको अवसर पारेर डिसेम्बेर ३१ साँझ लाइभ सांगितिक प्रस्तुति दिई रहेका गायक राईलाई स्टेज पछाडिबाट आएर भएको दुर्व्यवहारको चौतर्फी चर्को आलोचना भएको थियो।