काठमाण्डौं । सरकारी स्वामित्वको कम्पनी जनकपुर चुरोट कारखाना पुनः संचालनमा ल्याइने भएको छ ।
२२ वर्षदेखि बन्द कम्पनी पुनः सञ्चालनका लागि आवश्यक अध्ययन गर्न अर्थमन्त्रालयले समिति बनाएको हो ।सरकारी उद्योग तथा संस्थान शाखाका प्रमुख गिरीराज ज्ञवालीले कारखाना संचालनका लागि अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेश गरेको जानकारी दिनुभयो । अर्थमन्त्रालय सकारात्मक भएकाले कम्पनी पनि पुनः ब्युँताउन लागिएको उहाँले बताउनुभयो ।
उद्योग मन्त्रालयकी सहसचिव चन्द्राकला पौडेलको संयोजकत्वमा रमेश केशी सदस्य र गगनबहादुर विश्वकर्मा सदस्यसचिव रहने गरी अध्ययन समिति गठन गरिएको छ । समितिले तत्काल संचालन गर्न अध्ययन गर्ने र त्यसका लागि अनुमानित लागतसमेत तयार पार्नेछ । कम्पनीको यही पुस २५ गतेसाधारणसभा बोलाइएको छ ।
संचालक समितिको पुस २ गतेको बैठकले २०५६/०५७ देखि आर्थिक वर्ष २०७६/०७७ सम्मको विषयहरू पारित गर्ने र नयाँ विषयहरू पारित गर्न साधारणसभा आव्हान गरिएको छ । साधारणसभापछि कम्पनी अद्यावधिक गरी काम अघि बढाइने बताइएको छ । हाल अध्यक्ष/महाप्रबन्धक दुवैको जिम्मेवारी सरकारले सहसचिव चन्द्राकला पौडेललाई तोकिएको छ ।


