काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । शुक्रबार सकिएको मतगणनाबाट प्रतिस्पर्धी ६ जनामध्येबाट बढी मत पाउँदै थापाा र शर्मा विजयी भएका हुन् ।

थापा शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका थिए । अन्तिम मतपरिणामअनुसार गगनले ३०२३ मत पाए भने विश्वप्रकाशले १९८४ मत ल्याए । जम्मा ४६८२ मत खसेकाे थियाे ।

झापाका विश्वप्रकाश ६ वर्षको हुँदा काठमाडौँमा गगन जन्मिए । दुवै नेता विद्यार्थी राजनीतिबाट उदाएका हुन् । विश्वप्रकाश २०४० सालमा झापाको धुलाबारी माविमा नेविसंघ इकाई सभापति बने । २०४१ मा ९ कक्षा पढ्दै गर्दा उनी गिरफ्तारीमा परेका थिए । उनी २०४७ मा नेविसंघ झापाको जिल्ला सभापति चुनिए । २०४८ मा नेविसंघ केन्द्रीय सदस्य बनेका उनी २०५३ मा महामन्त्री, २०५७ मा सभापति र सोही बेला कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका थिए ।

विश्वप्रकाश महामन्त्री बनेकै कार्यकालमा गगन त्रिचन्द्र कलेजमा स्ववियू सभापतिमा निर्वाचित भएका थिए । ०५५ मा त्रिचन्द्रको सभापति हुँदा केन्द्रमा विश्वप्रकाश नै थिए । २०५७ सालमा जब विश्वप्रकाश सभापति भए, त्यही कार्यकाल गगन उपाध्यक्षमा निर्वाचित बनेका थिए । २०६२/६३ सालको जनान्दोलन ताका गगन गणतन्त्रको पक्षमा खटे । त्यसअघि उनले नेता नरहरी आचार्यसँगै मिलेर गणतन्त्रको कुरा गर्दा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले ‘दरबारिया’ को संज्ञा दिएका थिए ।

२०५९ सालदेखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे गगनले । सभापतिपछि आन्तरिक राजनीतिमै व्यस्त विश्वप्रकाश २०७२ को १३औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भए । उनी २०७४ मा पार्टी प्रवक्ता र २०७६ मा सूचना, संचार तथा प्रचार विभाग प्रमुख बनेर कार्यकाल पूरा गरे ।

गगन २०६७ सालमै सर्वाधिक मत ल्याएर १२औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भए । २०७२ को १२ औं महाधिवेशनमा गगनले महामन्त्रीमा उम्मेदवारी दिए, तर पराजित भए ।