काठमाडौँ/नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा साझा उम्मेदवार बनाउन नसक्ने हो भने आफूलाई पार्टीबाटै विदा गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन पर्सिदेखि शुरु हुँदैछ । तर पौडेल समूहले उम्मेदवार तय गर्न सकेको छैन । बुधबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा पनि आकांक्षीहरुबीच सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।

छलफलमा वरिष्ठ नेता पौडेलले आफूलाई सहयोग गर्न अरु आकांक्षीहरुलाई आग्रह गरेका थिए । तर पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिमा दाबी छाडेनन् । नेता डा. रामशरण महत भन्छन्, ‘रामचन्द्रजीले मलाई सहयोग गर्नुस् भन्दा प्रकाशमानजीले म पनि लड्छु भनेको छ । शेखरजीले लड्ने भनेको छ ।’

उनले अघि भने, ‘सबै लड्ने भए म राजनीतिबाट विदा हुन्छु, घरमै आराम गर्छु । पार्टीबाटै अलग हुन्छु भन्नुभयो रामचन्द्रजीले ।’ एक नेताका अनुसार आकांक्षीहरुबीच सहमति हुन नसकेपछि वरिष्ठ नेता पौडेलले झोँक्किएर यसो भनेका हुन् ।