काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा बिलेट र कोइलाको दाम घटेपछि स्वदेशी उद्योगीहरुले डन्डीको मूल्य प्रतिकिलो १३ रुपैयाँसम्म घटाएका छन्। 

११३ रुपैयाँसम्म उक्लिएको डन्डीको मूल्य अहिले घटेर न्यूनतम ९८ देखि १०० रुपैयाँ आइपुगेको अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपानेले बताए। ‘अहिले डन्डीको मूल्य घटेको छ। अन्तर्राष्ट्रिय बजारअनुसार डन्डीको मूल्य समायोजन हुने गरेको छ।अन्तर्राष्ट्रिय बजारमा कोइला, बिलेटको मूल्य घटबढ हुँदा स्थानीय बजारमा त्यसको प्रत्यक्ष प्रभाव पर्छ,’ न्यौपानेले भने। 

एक महिनाको अन्तरालमा डन्डीको भाउ १ सय ७ रुपैयाँदेखि अधिकतम ११३ रुपैयाँबाट ९८ देखि १०० रुपैयाँसम्म झरेको निर्माण सामाग्री व्यापार महासंघका संस्थापक महासचिव शिवप्रसाद मानन्धरले जानकारी दिए। मानन्धर भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षसमेत हुन्। 

भट्टी नभएका पञ्चकन्या, साख:, हिमाल, हामा लगायतका डन्डी कम्पनीहरुको भाउ प्रतिकिलो ११३ रुपैयाँसम्म पुगेको थियो। बिलेटको मूल्य पनि पाँच सात डलर घटेको न्यौपानेले बताए। अघिल्लो महिना बिलेटको मूल्य ६३५ डलर हाराहारी घुमिरहेको थियो।

सिमेन्टको मूल्य भने स्थिर छ। अहिले काठमाडौं उपत्यकामा ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा आठ सयदेखि ८५० रुपैयाँ हाराहारी रहेको मानन्धरले जानकारी दिए। यस्तै, पीपीसी सिमेन्ट प्रतिबोरा ७५० रुपैयाँ पर्ने उनले बताए। गत महिना ओपीसी सिमेन्टको मूल्य ब्राण्डअनुसार आठ सयदेखि आठ सय ५० रुपैयाँ हाराहारी थियो। भारतसहित अन्य देशहरुमा कोइलाको अभावका कारण सिमेन्टको मूल्य बढ्न पुगेको थियो। तर, अहिले कोइलाको मूल्य घटेकाले सिमेन्टको मूल्य ओरालो लाग्दै गएको बताइएको छ।

अघिल्लो महिना प्रति टिपर २४ हजार रुपैयाँ हाराहारी पर्ने रोडा/गिट्टीको भाउ अहिले बढेर प्रति टिपर ३०/३१ हजार रुपैयाँ पुगेको बताइएको छ। सानो ट्रक/टिपरको भने ११ हजार रुपैयाँ पर्छ। 

कोइलाको मूल्यवृद्धिलाई कारण देखाउँदै इँटाको मूल्य पनि बढेको छ। काठमाडौंमा १ नम्बर इँटाको मूल्य प्रति गोटा १७ रुपैयाँ पुगेको छ। तराईं इँटाको मूल्य काठमाडौंमा प्रतिगोटा २० रुपैयाँ छ। भक्तपुर टायलको चाइनिज इँटा प्रतिगोटा २३ रुपैयाँ हाराहारी पर्ने र अन्य चाइनिज इँटाको भाउ प्रतिगोटा १८ रुपैयाँ पर्ने बताइएको छ। घर निर्माणको सिजन सुरु भएसँगै इँटाको मूल्य कोइलाको मूल्य देखाउँदै बढ्न सक्ने देखिन्छ।

यस्तै, बालुवाको मूल्य भने स्थिर देखिन्छ। अहिले पनि बालुवाको भाउ प्रति टिपर २७/२८ हजार रुपैयाँ र सानो टिपरको १२ हजार रुपैयाँ पर्छ।