काठमाडौं । मंसिर महिनालाई विवाहको महिना पनि भनिन्छ । यो महिनामा धेरै सम्बन्धहरु जोडिएका हुन्छन् । विवाहको बेला धेरैले सुनचाँदीका गहना बनाउने गर्दछन् । जसले गर्दा यो महिना सुनचाँदीको कारोबार पनि बढ्ने गर्छ । 

तर, यस वर्षको मंसिरमा भने त्यस्तो नभएको सुनचाँदी व्यवसायीहरु बताउँछन् । मंसिरमा धेरै विवाहको लगन भए पनि यसपालि भने यो महिना सुनचाँदीको कारोबार नबढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । 

उनले भने, ‘अघिल्ला वर्षहरुको मंसिर महिनामा सुचाँदीको कारोबारमा वृद्धि हुन्थ्यो । तर, यस वर्ष सुनचाँदीको कारोबार सुस्ताएको छ । सुनको मूल्य तोलामै लाखौँ रुपैयाँ पुगेकोले पनि कारोबार बन नसकेको हुनसक्छ ।’ 

गत महिनाकै हाराहारीमा अहिले पनि कारोबार भइरहेको उनले बताए । शाक्यले भने, ‘अहिले दैनिक ३० किलो सुनको कारोबार भइरहेको छ । कात्तिक महिनामा पनि यहि रेसियोमा कारोबार भएको थियो ।’ 

त्यस्तै, पूर्वअध्यक्ष शाक्यले चाँदीको कारोबार पनि घटेको जानकारी दिए । उनले भने, ‘सुन भन्दा पनि चाँदीको कारोबार झनै धेरै सुस्ताएको छ । गत महिना दैनिक २ हजार किलो कारोबार भइरहेको चाँदी अहिले घटेर दैनिक चार सयमा सिमित भएको छ ।’

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ४ सय रहेको छ । त्यस्तै, शुक्रबार चाँदीको मूल्यप्रतितोला १२२५रहेको महासंघले जनाएको छ ।   

यता नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा गर्दै चाँदी आयातमा झन कडाइ गर्ने नीति सार्वजनिक गरेको छ । विदेशी मुद्रा संन्चिती कम हुँदै गएपछि राष्ट्र बैंकले चाँदी आयातमा कडाई गरेको हो । 

चालु आर्थिक वर्षको ४ महिनामा १ लाख २९ हजार ४१० केजी चाँदी आयात भएको छ । गत वर्षको सोही अवधिमा ७ हजार ५०० केजी चाँदी आयात भएको थियो । नेपाली बजारमा चाँदीको मूल्य सस्तो हुँदा भारततर्फ तस्करी हुने भएकाले गत असोज १९ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रति १० ग्राम चाँदीको भन्सार महसुलमा २२ रुपैयाँ बढाएर १०७ रुपैयाँ पुर्याइएको थियो ।