काठमाडौं। प्रदेश नं. १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारले नियमावलीमार्फत गठन गरेको प्रतिष्ठान र बोर्ड खारेज गर्ने निर्णय गरेको हो।
नेपाल पत्रकार महासंघले प्रतिष्ठानको संरचना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बाधक रहेको जनाउँदै आएको थियो। मन्त्री परिषद बैठकले प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ तथा सो अन्तरगत गठन भएको प्रादेशिक सञ्चार प्रतिष्ठानसमेत खारेज गर्ने निर्णय गरेको छ। त्यस्तै, बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ खारेज गर्ने नियमावलीलाई पनि स्वीकृति प्रदान गरेको छ। मन्त्रिपरिषद्को निर्णयसँगै प्रतिष्ठानका कार्यकारी निर्देशकसहित सबै सदस्यहरू र बोर्डका उपाध्यक्षसहित सबै सदस्यहरू स्वत: पद मुक्त भएका छन्। प्रतिष्ठानको कार्यकारी निर्देशकमा यज्ञप्रसाद शर्मा र बोर्डको उपाध्यक्षमा फणिन्द्र अधिकारी नियुक्त थिए।