काठमाण्डौ ।  रामेछाप र ओखलढुंगा जिल्लाको सीमा लिखु नदीमा निर्माण भएको लिखु ४ जलविद्युत आयोजनाले व्यवसायिक सुरु गरेको छ । 

५२ दशमलव ४ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाले उत्पादन गरेको विद्युत हालै मात्र नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा पठाइएको हो । आयोजनाबाट हाल करिव ३५ मेगावाट विद्युत केन्द्रीय ग्रिडमा जोडिएको छ । वर्षायाममा भने पूर्ण क्षमतामा विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ । निजी क्षेत्रको ग्रिनभेन्चर लिमिटेडद्वारा प्रवर्द्धन गरिएको उक्त आयोजनाले २०१८ अक्टोबरबाट काम थालेको थियो । ३ वर्षमा पुरा भएको आयोजनाले नेपाल विद्युत प्राधिकरणलाई विद्युत विक्री गर्न थालेको छ ।
आयोजनाका सम्पर्क अधिकृत कृष्णदाश श्रेष्ठका अनुसार रामेछापको उमाकुण्ड ७ भुजी र ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाको बीचमा बग्ने लिखु नदीको पानीलाई बिमिरेमा बाँध बनाई ४ दशमलव २४ किलोमिटर लामो भूमिगत सुरुङ मार्फत खिजीदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा खसालिएको छ । उत्पादन गृहमा २ वटा टर्वाइनबाट बिजुली उत्पादन गरिएको छ । उत्पादित विद्युतलाई २ सय २० केभी प्रशारण लाइनमार्फत रामेछाप जिल्लाको मन्थली नगरपालिकामा निर्माण भएको न्यू खिम्ती सब स्टेशनमा जोडिएको छ ।

वर्षायाममा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने आयोजनाले हिउँदका बेला कम्तीमा पनि ३० मेगावाट उत्पादन गरी केन्द्रीय प्रसारण लाइनमा जोडिने श्रेष्ठले बताए । बिहीबार ओखलढुंगाको रगनीस्थित विद्युत उत्पादन गृहमा आयोजित एक कार्यक्रमका बीच उक्त आयोजनाको प्रतिनिधिसभाका सांसद तथा पूर्व गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठ र सांसद यज्ञ सुनुवारले उद्घाटन गर्नु भएको हो । सुरुमा १ सय २० मेगावाट क्षमतामा उत्पादन गर्नेगरी डिजाइन गरिएको लिखु ४ जलविद्युत आयोजनामा भारतीय लगानी निश्चित गरिएको थियो । भारतीय कम्पनी भिलवारासँगको साझेदारी टुंग्याएर ग्रिनभेन्चर लिमिटेडले आयोजनाको क्षमता घटाएर काम थालेको थियो ।

आयोजनाले तोकिएको अवधिमा नै निर्माण पुरा गरी उत्पादन थालेको हो । यसअघि रामेछापको हलेदेबेसी देखि ओखलढुंगाको रगनी सम्मको प्रवेश सडक लगायतको पूर्वाधारको काम गरेको थियो । लिखु नदीको पानी प्रयोग गरी अन्य ६ वटा आयोजना समेत निर्माणाधीन अवस्थामा छन् । लिखु १, २, ३ र लिखु ए जलविद्युत आयोजना निर्माणको अन्तिम तयारीमा छन् ।