काठमाण्डौ । नेपालमा उत्पादन हुने हरियो चिया निर्यातलाई भारतले रोक लगाएको छ ।

भारतीय टी–बोर्डले नेपाली चियाको गुणस्तर कमजोर भएको आरोप लगाउँदै आयातमा रोक लगाउँदा नेपाली चियाको निर्यात रोकिएको हो । भारतमा चिया आयात गर्ने फर्मले भारतीय टी बोर्डबाट पूर्वस्वीकृति लिएर मात्र चिया लैजान सक्ने व्यवस्था छ । तर, बोर्डले नै नेपाली चिया गुणस्तरहिन भएको भन्दै आयातमा अवरोध गरेको हो । नेपाली सिटिसी चियाको ५० प्रतिशत र अर्थोडक्स चियाको ९० प्रतिशत बजार भारत भएपनि बेला–बेला बिभिन्न बहाना बनाउँदै भारतले नेपाली चियामाथि रोक लगाउ‘दै आएको मेची भन्सार कार्यालय, काँकडभिट्टाका प्रमुख केशव प्रसाद ओलीले जानकारी दिनुभयो । 

भारतको दार्जिलिङ, डुर्वस र आसाममा पनि ठूलो परिमाणमा चियाको उत्पादन हुने गरेको  र नेपाली चिया स्वदेशी उत्पादन भन्दा निकै गुणस्तरिय हुने भएकाले बजारमा प्रतिस्पर्धा गर्न नसक्ने बुझेर नेपाली चिया रोकेको व्यापारीहरुको बुझाइ छ । सोही कारण टी बोर्ड अफ इन्डियाले नेपाली चियाको आयात रोक्न माग गर्दै भारतको वाणिज्य तथा उद्योग मन्त्रालयसँग माग गरेको नेपाल चिया उत्पादक संघ वरिष्ठ सल्लाहकार चण्डी पराजुलीले बताउनुभयो । 

अवरोधका कारण २० वटा बिल क्लियर भएका सवारी मेची भन्सारमै रोकिएको भन्सार एजेन्टहरुको भनाइ छ ।००००