सिन्धुली । सिन्धुली स्थित कमलामाई नगरपालिका वडा नं.-६ शिवनगरमा रहेको कोभिड अस्पताल (आइसोलेसन) आज बाट बन्द भएको छ। स्वास्थ्यकर्मीलाई दिईने तलब भत्ताको सुनिश्चितता नभएका कारण आर्थिक अभावमा कोभिड अस्पताल बन्द भएको हो।

पटक पटक सरकारसँग स्वास्थ्यकर्मीको व्यवस्थापनका लागी बजेट बिनियोजनको प्रस्ताव राखे पनि सुनुवाई नभएका कारण कोभिड अस्पतालमा बन्द गरिएको छ। तहाँ कार्यरत ३४ जना स्वास्थ्यकर्मी कर्मचारीलाई समेत बिदा गरिएको अस्पतालका अध्यक्ष प्रलाद पोखरेलले बताउनु भयो। अस्पतालमा कार्यरत ४९ जना स्वास्थ्यकर्मी मध्ये १५ जना स्वास्थ्य कर्मीले यस अघिनै छोडिसकेका छन्। बाँकी रहेका ३४ जना स्वास्थ्यकर्मीलाई आजबाट विधिवत रुपमा बिदाई गरी कोभिड अस्पताल बन्द गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो ‘कोभिडको माहामारीमा पनि ज्यानको प्रवाह नगरी खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएपछि निरुत्साहि त थिए नै अब त झन् तलबको सुनिश्चितता पनि भएन। निकै कष्ट गरेर कोभिडको समयमा अस्पताल ल्याइएको स्वास्थ्यकर्मी लाई एक वर्ष पनि राख्न नसकेर आजबाट बिदाई गर्दा लज्जास्पद हुनु परेको छ। प्रदेश सरकार र केन्द्र सरकारलाई पटकपटक जानकारी गराएँ, हारगुहार मागे तर सरकार गैर जिम्मेवार बनि दियो। जनशक्ति नभएपछि अस्पताल चलाउने कुरा भएन त्यसैले आजबाट अक्सिजन प्लान्ट बाहेकका सेवामा ठप्प गरिएको छ।’

त्यस्तै उहाँले अब पिसिआर टेष्ट ल्याब पनि बन्द गर्नुपर्ने स्थिती आएको बताउनु भएको छ। सामान्य ज्वरो आएको बिरामीलाई पनि रिफर गर्नुपर्ने बाध्यता भएको उहाँको तर्क रहेको छ। २०७८ बैशाखको २ गतेबाट अक्सिजन प्लान्ट सहित कोभिड अस्पताल सञ्चालनमा आएको थियो । ‘सरकारले कोभिड लागेका बिरामिलाई निशुल्क सेवा दिनु भनेर आदेश त दियो तर कोरोनाको दोस्रो लहर सम्म आइपुग्दा अस्पतालको २ करोड खर्च हुँदा समेत अस्पतालको खर्च ब्यहोरेन’ अध्यक्ष पोखरेलले थप्नुथयो।

नेपाल सरकारबाट अस्पतालले गरेको खर्चमात्रै ब्यहोरेको भए केही कर्मचारी राखेर अस्पताल खोलिने अध्यक्ष पोखरेलको भनाई रहेको छ। कोभिड अस्पताल सिन्धुलीबाट कोरोना माहामारीको दोस्रो लहरबाट मात्रै ३ सय १४ जनाले सेवा लिएका थिए। जसमध्ये २ सय ४६ जना बिरामी निको भएको र ३९ जनालाई बाहिर रिफर गरिएको थियो भने २९ बिरामीको जनाको मृत्यु भएको थियो। प्रदेश सरकारले कर्मचारी व्यवस्थापनको लागि छुट्याएको बजेट यही कार्तिकबाट समाप्त भएको सिन्धुली अस्पतालका मेडिकल सुपरीटेण्डेन डाक्टर उमेश प्रधानले बताउनु भयो। उहाँले भन्नुभयो ‘यही कार्तिकबाट प्रदेश सरकाले कर्मचारी व्यवस्थापनको लागि छुट्याएको ६० लाख बजेट कार्तिकबाट समाप्त भयो। यस विषयमा पटकपटक सम्बन्धित निकायसँग जनाकारी गराउँदा पनि बेवास्ता भयो ।