सिन्धुली। कृषि तथा पशु व्यवसाय विकास सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्ने गरी मरिण गाउँपालिका र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ। सो सम्झौतामा आज मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन र हेफर इन्टरनेशनल नेपालका निर्शेशक तिर्थराज रेग्मीले दुई पक्षिय सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो।

कृषि तथा पशु व्यवसाय सम्बन्धी तालिम सञ्चालन गर्न दुई आर्थिक वर्षको लागि सम्झौता भएको गाउँपालिकाले जनाएको छ । सम्झौतामा दुई आर्थिक वर्षको लागि मरिण गाउँपालिकाले २ करोड १० लाख र हेफर इन्टरनेशनल नेपालले ९० लाख बजेटमा कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ। मरिण गाउँपालिकालाई कृषि र पशु क्षेत्रमा आत्मनिर्भर बनाउने उदेश्यले सम्झौता पत्रमा हस्ताक्षर गरिएको मरिणका अध्यक्ष पानिराज बम्जनले बताउनु भयो।

बाख्रा, दूध, लोकल कुखुरा पालन लगाएतका कार्यक्रम गर्ने गरी साझेदारीमा कृषि तथा पशुपालन उद्यमशिलता विकास कार्यक्रम सम्झौता भएको हो। हेफर इन्टरनेशनल नेपालको प्राविधिक र प्रशासनिक सहयोग र गाउँपालिकाको आर्थिक सहयोग रहने गरी कार्यक्रम सञ्चालन गरिने समझौता पत्रमा उल्लेख छ। हेफर नेपालले पशु र कृषिमा आधुनिकरण, यान्त्रीकरण लगायतको व्यवस्थापन गर्ने भएकाले मरिणमा पशु विकास र कृषिको वृद्धिदर हुने आशा गरिएको छ। यस्तै हेफर इन्टरनेशनल नेपालले यसअघि सिन्धुलीको घ्याङलेक गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिसकेको छ । साथै अब तत्काल फिक्कल गाउँपालिकासँग सम्झौता गर्ने तयारी रहेको छ ।