काठमाडौं । जावलाखेलको खेल मैदानमा शुक्रबारदेखि १४औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ सुरु भएको छ । सोमबारसम्म रहने मेलामा ४ सयभन्दा बढी प्रजातीका ढकमक्क फलफूलहरुले सजाइएका ४८ वटा स्टल रहेका छन् ।

फूल प्रेमीहरूको भीड लागेको प्रदर्शनीमा आकर्षण रुपमा सजाइएका स्टलहरु रहेका छन् । जसमा, स्टलैपिच्छे फोटो खिच्ने युवाहरुको पनि उत्तिकै भीड देखिन्छ ।

यो वर्षको प्रदर्शनीमा उत्कृष्ट स्टलको उपाधि थापा नर्सरी कीर्तिपुरको स्टलले जितेको छ । स्टलको अगाडि प्रमाणपत्र र पुरस्कार राखिएको थापा नर्सरीको स्टलमा विभिन्न रङका गोदावरी फूल बेच्नको लागि सजाएर राखिएको छ ।

विभिन्न विधामा पुरस्कृत गर्दै आएको प्रदर्शनीले यस वर्ष भने उत्कृष्ट स्टललाई मात्र पुरस्कृत गरेको छ ।

प्रदर्शनी उत्साहजनक देखिएको छ । यस्ता फूल प्रदर्शनीले पुष्प व्यवसायीलाई मात्रै नभएर फूलप्रेमी नागरिकलाई पनि आकर्षण गरेको छ ।

प्रदर्शनीमा व्यवसायीहरु फलफूलका विरुवासँगै रोप्ने तरिका, घरमा कुन फूल अथवा प्लान्टलाई कस्तो स्थानमा राख्ने, कसरी रोप्ने, कतिदिनमा पानी हाल्ने लगायतका सुझाव दिइराखेको देख्न सकिन्छ ।
प्रदर्शनीमा हजारौं पर्ने फलफूलका बोटदेखि सस्तोमा ५० रुपैयाँसम्मका विरुवाहरु किन्न पाइन्छ ।