अखिल नेपाल फुटबल संघको आयोजनामा भइरहेको उप-मेयर कप, राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगिता- २०७८ को समूह "ई" बाट रोङ गाउँपालिकाले आज काठमाडौं उपमहानगरपालिकासँग गोलरहित बराबरी खेलेका छन् ।
निर्धारित समयमा कुनै गोल हुन नसकेपछि ३ मिनेट समय थप गरेको थियो र सो समयमा पनि दुवै टिमले कुनै गोल गर्न सकेन ।
आजको खेलमा उत्कृष्ट खेलाडी रोङ गाउँपालिकाकी जर्सी नम्बर २ का खेलाडी बिमला वि. क. भएकी छिन् । उनले ट्रफी र रू.५००० पुरस्कार प्राप्त गरेकी छिन् ।
कार्त्तिक ४ गतेबाट सञ्चालन भइरहेको यस प्रतियोगितामा जम्मा ३१ टिम रहेका छन् । जसलाई १० समूहमा विभाजन गरिएको छ । जसमध्ये समूह "ए"मा ४ टिम रहेका छन् भने अन्य ९ समूहमा ३-३ टिम रहेका छन् ।
रोङ गाउँपालिकाले अर्को खेल ९ गते हुम्लाको सिमिकोट गाउँपालिकासँग खेल्ने छ । यस प्रतियोगिताको प्रथम र दोस्रो टिम राष्ट्रिय महिला लिग २०७८ का लागि छनौट हुने छन् ।
समूह चरणको खेल पश्चात् नकआउट फर्मेटमा अन्य खेलहरु हुनेछ । पहिलो चरणमा समूह विजेता टिमहरुले नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।
त्यस्तै फेयर प्ले टिम, बेष्ट प्लेयर र प्लेयर अफ दि म्याचले नगद रु ५०-५० हजार प्राप्त गर्नेछन् भने बेष्ट स्ट्राइकरले नगर रु २० हजार प्राप्त गर्नेछ । खेलको प्रत्यक्ष लाइभ एन्फाको अफिसियल पेजबाट भइरहेको छ ।