काठमाण्डौ । रुपन्देहीको बुटवल भएको झडपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले प्रति व्यत्ती ५ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज एक विज्ञप्ति जारी गर्दै मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार दिने निर्णय भएको जानकारी दिएको हो । मृतकको किरिया खर्चबापत ५० हजार र राहतस्वरूप प्रतिपरिवार ५ लाख रुपैयाँ दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

यसअघि, हिजो लुम्बिनी प्रदेश सरकारले मृतकका परिवारलाई राहतस्वरूप प्रतिपरिवार १ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । केन्द्र सरकारले घाइते भएका प्रहरी र सुकुम्बासीको उपचार पनि गर्ने जनाइएको छ ।

गत आइतबार मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा प्रहरी र सुकुम्बासीबीच दोहोरो झडप हुँदा ४ नागरिकको मृत्यु भएको थियो भने करिब ५० जना घाइते भएका थिए ।००००