इलाम जिल्लाको रोङ गाउँपालिकामा रहेकाे धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङको ठूलो पाथिभरा दर्शनको लागि इलामको दुई स्थानबाट हेलिकप्टरबाट सोझै ताप्लेजुङ पुर्‍याउन सीता एयरलाइन्सको हेलिकप्टर रोङ ३ कुटीडाँडामा साँझ आइपुगेको छ ।

उक्त हेलिकप्टरले पर्यटकीय स्थल कन्याम तथा श्रीअन्तुसमेत यात्रामा सेवा दिने भएको हो । कुटीडाँडाको सानो पाथिभरा दर्शन पछि त्यहाँबाट सोझै ताप्लेजुङको पाथिभराको दर्शन गर्न उक्त माउन्टेन हेलिकप्टर कुटीडाँडा आइपुगेको हो । विजया दशमीको अवसर पारेर कन्यामबाट पाथीभरा, पाँचथरको थिम्वू पोखरी र ताप्लेजुङको सुकेटार विमानस्थलबाट पनि सोझै पाथीभरा माताको दर्शन गर्ने व्यवस्था मिलाइएको सीता एयरका स्टेशन मेनेजर तथा माउण्टेन हेलिकप्टरका को अडिनेटर राम अधिकारीले बताए। अधिकारीका अनुसार असोज २१ गते २८ गतेसम्म पाथीभराको दर्शनका लागि हेलिकप्टरले दिनमा दुई पटक दर्शनार्थीलाई पाथीभरा पुर्याउने र ल्याउने व्यवस्था मिलाइएको छ ।

कन्याममा प्राय कुहिरो लागि रहने गर्दछ । अधिकारीका अनुसार एक पटकमा पाँचजना पर्यटक बोक्ने क्षमता भएको हेलिकप्टरले कन्यामबाट ३५ मिनेटमा पाथीभरा पुर्याएर एक घण्टासम्म पाथीभरा दर्शन गराएर उक्त हेलिकप्टरले पर्यटकलाई कन्याम ओराल्ने जनाएको छ । स्टेसन मेनेजर अधिकारीले भने, ‘पाथीभरा दर्शनमा जाने बिरामी, अशक्त र पर्यटकलाई मध्यनजर गरी सेवा सुरु गरेका हौँ, उनले भद्रपुरभन्दा कन्यामबाट भाडादर सस्तो भएको जानकारी दिए ।