काठमाण्डौ । चीनले १० लाख डोज कोरोनाविरुद्धको सिनोभ्याक खोप नेपाललाई अनुदान सहयोग गर्ने भएको छ ।

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले आज स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा थप १० लाख मात्रा सिनोभ्याक खोप सहयोग गर्ने बताउनु भएको हो । भेटवार्तामा सिनोभ्याक खोप नेपाल ल्याउनेबारे छलफल भएको थियो । यस्तै, चीनले नेपाली सेनाका लागि पनि थप तीन लाख मात्रा खोप अनुदानमा उपलब्ध गराउने भएको छ । चीनले कोरोना महामारीको तेस्रो लहरसँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार निमार्णका लागि ९ करोड २४ लाख रुपैयाँ समेत सहयोग गर्ने भएको छ ।

यसैबीच, भारतसँग खरिद गरिएको १० लाख मात्रा कोभिसिल्ड खोप नेपाल आइपुग्ने भएको छ । गत फागुनमा खरिद गरिएको १० लाख मात्रा खोप ६ महिनापछि आउन लागेको हो । भारतको सेरम कम्पनीबाट खरिद गरिएको २० लाख मात्रा खोपमध्ये १० लाख मात्रा खोप आइसकेको छ । नेपालले भारतसँग प्रति मात्रा चार डलरका दरले २० लाख मात्रा खोप खरिद गर्ने संझौता गरेको थियो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख सागर दाहालले सम्भवतः आगामी शनिबार सम्ममा खोप आउने जानकारी दिनुभयो ।