एजेन्सी । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप, २०२१ को पहिलो खेलमा नेपालले आयोजनक माल्दिभ्सविरुद्ध १-० गोलको जीत निकालेको छ ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका युवा फरवार्ड मनिष डाँगीले गरेको एकमात्र गोल निर्णयक बन्दा नेपालले २२ वर्षपछि माल्दिभ्सलाई पराजित गर्न सफल भयो । मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा काउन्टर अट्याकमा गोल गर्न सफल भएका थिए ।

खेलमा आयोजक माल्दिभ्सले खेलामा पकड जमाए पनि गोल गर्न नसक्द हार व्यहोर्नु पर्‍यो । जीतसँगै नेपालले स्पष्ट तीन अंक जोड्दै साफ च्याम्पियनसिपमा सुखद् सुरुवात गर्‍यो ।

जीतपछि बोल्दै नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माल्दिभसविरुद्ध नेपाल जीतको हकदार रहेको बताएका छन् ।