सिन्धुलीमाढी । नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाले जिल्लामा कोरोनाको दोस्रो लहरबाट संक्रमण भई मृत्यु भएका सन्तानलाई नगद सहयोग गरेको छ। आज एक औपचारिक कार्यक्रमबीच दोस्रो लहरबाट मृत्य भएका आश्रित परिवारलाई जिविकोपार्जनको लागि नगद सहयोग वितरण गरेको हो।

नेपाल रेडक्रस सोसाइटी खानेपानी सरसफाई तथा स्वच्छता पुर्नलाभ कार्यक्रमद्वारा सिन्धुलीमा कोरोना भाइरस संक्रमण बाट मृत्यु भएका ४५ परिवारलाई १२ हजारका दरले नगद सहयोग बितरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाका सभापति अशोक श्रेष्ठको अध्यक्षता तथा माओबादि केन्द्र सिन्धुलीका इन्चार्ज तथा बागमति प्रदेश सदस्य लेखनाथ दाहाल राजनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रि, नेपाली काङ्गग्रेस सिन्धुलीका युवा नेता माणिक ढकाल लगायतको उपस्थिती रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटीले बिपदको समयमा समाजमा सहयोग गदैँ आएको बताउँदै सभापति श्रेष्ठले कोभिडको समयमा पनि अहोरात्र खटेर काम गरेको बताउनु भयो । कोभिडबाट मृत्यु भएका सिन्धुलीबासिका आश्रित परिवारको जिविकोपार्जनमा सहयोग पुग्ने हेतुले रेडक्रसले नगद सहयोग गरेको श्रेष्ठको भनाई रहेको छ । सिन्धुलीमा भएको एकताका कारण कोरोना जस्तो माहामारिबाट धेरै क्षति नभएको कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रिले बताउनु भयो । विपदको समयमा रेडक्रसले निभाएको भुमिका सराहनिय रहेको उहाँले बताउनु भयो ।