काठमाण्डौ । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या घटेपनि संक्रमणको जोखिम भने कायमै रहेको विज्ञहरुले बताएका छन् ।

जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन नगरे संक्रमितको संख्या बढ्न गइ पुनः तेस्रो लहरको जोखिम आउन सक्ने विज्ञहरुको भनाई छ । अहिले देशका अधिकांश क्षेत्र खुलेपनि ती क्षेत्रहरुमा भौतिक दूरी कायम नहँुदा तेस्रो लहरको जोखिम देखिएको हो । स्वास्थ्य मन्त्रालयले भदौ महिनामा ४५ हजार ७ सय २६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरेकोमा उक्त प्रक्षेपणभन्दा थप १३ हजार ५ सय २६ संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांक हेर्दा प्रत्येक एक घण्टामा ५० जना संक्रमित थपिने गरेका छन् । स्वास्थ्य मन्त्रालयले तत्काल भौतिक उपस्थितिसहितका क्रियाकलाप नगर्न भनेपनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भौतिक उपस्थितिसहित गतिविधिलाई खुकुलो बनाएका छन । अहिलेपनि मोरङ, सुनसरी र झापा, काठमाडौं, भक्तपुर, ललितपुर  मकवानपुर, कास्की र लुम्बिनी प्रदेशमा ५०० बढि सक्रिय संक्रमित रहेका छन ।

नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने जोखिम भएपनि कोरोना विरुद्धको खोपलाई व्यापक बनाउनुपर्ने विज्ञहरुको भनाई छ । हालसम्म नेपालमा २८ दशमलव ५ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन् । यस्तै पहिलो मात्रा खोप लगाउने ३२ प्रतिशत रहेका छन । 

यसैबीच, नेपालमा थप १ हजार १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय ५२ पीसीआर परीक्षण र ३ हजार ८ सय ८९ एन्टिजेन परीक्षणमा कुल १ हजार १ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो । आज काठमाडौं उपत्यकामा मात्रै  ३ सय ३५ जना संक्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार १ सय १३ जना कोरोनामुक्त भएका छन भने थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ९३ रहेको मन्त्रालय जनाएको छ ।००००