मिलन राई, रोङ, इलाम। "हामी इच्छुक छौं,बालबालिकाहरू उत्सुक छन् , प्रविधियुक्त कक्षाकोठा आजको आवश्यकता " भन्ने नाराका साथ स्थापना भएको प्रविधिमैत्री शिक्षक समाज रोङ गाउँ कार्य समितिको आयोजना तथा जिल्ला प्राविधिक समिति इलामको सहयोगमा शिक्षण सिकाइ सहजीकरणमा मोबाइल एप्सको प्रयोग सम्बन्धी ३ दिने अनलाइन तालिम सम्पन्न भएको छ।

गाउँ कार्य समितिका अध्यक्ष भूपाल खड्का सभापति रहेको कार्यक्रमको समापन कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाजका परिकल्पनाकार तथा केन्द्रीय अध्यक्ष भुपति बस्याल प्रमुख अतिथि तथा विशेष अतिथि प्रविधिमैत्री शिक्षक समाज केन्द्रीय समिति संयोजक धनश्याम अधिकारी, केन्द्रीय सदस्य बालकुमार रेग्मी, माधव भट्टराई, प्रदेश नम्बर १ संयोजक भगिरथ पौडेल,जिल्ला अध्यक्ष खेमराज लिम्बू, रमेश पौडेल विशेष अतिथि रहेका थिए, जिल्ला समिति सदस्य, प्रदेश समिति सदस्य, प्राविधिक समिति, विभिन्न विद्यालयका प्रधानाध्यापक अतिथि रहेका थिए । प्रमुख अतिथिबाट ब्यानर वाचन भएर उद्घाटन भएको तालिममा स्वागत मन्तव्य समितिका सदस्य रोशन चाम्लिङ राईले गरेको थियो भने प्रमुख अतिथि तथा विशेष अतिथि लगायत अतिथिहरूबाट शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तालिमको उद्घाटनको दिन केन्द्रीय अध्यक्ष भुपति बश्याल तथा दोस्रो र तेस्रो दिन केन्द्रीय संयोजक धनश्याम अधिकारीले सहजीकरण गरेका हुन् । तालिममा करिब ३५० जना देशभरिका शिक्षक शिक्षकाहरूको सहभागी रहेको थियोे । तालिमको पहिलो दिन मोबाइलबाट विभिन्न किसिमका ब्यानर निर्माण, लोगो निर्माण साथै शुभकामना कार्ड, निमन्त्रणा पत्र बनाउने जस्ता एप्ससम्बन्धी प्रशिक्षण भएको थियो भने दोस्रो र तेस्रो दिन मोबाइलमा पावरपोइन्टको काम त्यस्तै जिबोर्डको प्रयोग गर्ने तरिका, आफू बोलेर मोबाइलमा टाइप गर्ने जस्ता एप्लिकेसन सम्बन्धी तालिम भएको हो । तालिममा सहभागीहरूले उत्साहजनक तरिकाले सहभागिता जनाएका थिए । सम्पूर्ण सहभागीहरूलाई आयोजक रोङ गाउँ कार्य समितिले प्रमाणपत्र अनलाइन माध्यमबाट नै प्रदान गरेको छ ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रविधिमैत्री शिक्षक समाज जिल्ला समिति, प्रदेश समिति, केन्द्रीय समिति, प्राविधिक समिति लगायत सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै रोङ गाउँपालिकाको प्रत्येक विद्यालयको कक्षाकोठामा प्रविधियुक्त शिक्षण सिकाइ सहजीकरण गर्न गाउँपालिकालाई मुख्य केन्द्रविन्दु बनाएर आगामी दिनमा यस्तै विभिन्न प्रविधिमैत्री कार्यक्रम गर्दै जाने गाउँ समितिका अध्यक्ष भूपाल खड्काले बताए । यो तालिम निकै फलदायी भएको र यसलाई हामी सदुपयोग गर्ने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरे । ३ दिनको सो कार्यक्रम समितिका सम्पूर्ण सदस्यहरूले कार्य विभाजन गरी सक्रिय रूपमा सञ्चालन गरेको हो । समापनको कार्यक्रम गाउँ कार्य समितिका सचिव कुमार मगरले सञ्चालन गरेको थियो ।