काठमाण्डौ । सरकारले काठमाडौं उपत्यकामा आगामी असोज ४ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने तयारी गरेको छ । 

पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाउने तयारी भएको जानकारी दिएको हो । वडा भित्रको तोकिएको स्थानमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ । यस्तै कीर्तिपुर नगरपालकिामा १० ठाउँमा दोस्रो डोज लगाइदैछ भने चन्द्रागिरि नगरपालिकामा १५ ठाउँ लगायत अन्य विभिन्न स्थानमा दोस्रो डोज चिनियाँ खोप लगाइँदैछ ।

मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाभित्रका नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, बीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूतीगृह, स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप केन्द्र तोकिएको छ । सरकारले चीनबाट खरिद गरेको थप ४४ लाख डोज भेरोसेल खोप आज मात्र नेपाल आईपुगेको हो । सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज मात्र नेपाल ल्याईएको थियो । अहिलेलाई चीनबाट ४४ लाख डोज खोप आएको र थप खोप पनि छिट्टै ल्याउने सरकारको तयारी छ ।००००