काठमाण्डौं । सरकारले चीनबाट खरिद गरेको थप ४४ लाख डोज भेरोसेल खोप नेपाल आईपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी जाहाज मार्फत आज दिउँसो २ बजे खोप काठमाण्डौं आईपुगेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. सागर दाहालले जानकारी दिनुभयो । खोप लिन निगमको वाइडबडी–३३० जहाज हिजो बेलुका बेइजिङ गएको थियो । सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज मात्र नेपाल ल्याईएको थियो ।

दाहालका अनुसार उक्त खोप रसुवा, सोलुखुम्बु, मुगु, ताप्लेजुङ, बाजुरा लगायत १० वटा हिमाली जिल्लाका लागि उपयोगमा ल्याइनेछ । उनले भने 'खोप ढुवानीको समस्या हुने भएकाले हिमाली जिल्लालाई प्राथमिकतामा राखेका हौँ । यो खोप छिट्टै वितरण गर्ने तयारी छ ।' उनले काठमाडौँ, ललितपुर, भक्तपुर, रामेछाप लगायत ७ जिल्लामा ४० वर्ष माथिका व्यक्तिलाई पनि उक्त खोप लगाइने अन्नपूर्णसँग बताए । यस्तै अन्य ५५ जिल्लामा ३५ वर्षमाथिका व्यक्तिहरुलाई यो खोप उपलब्ध गराइनेछ ।

यसअघि लक्षित समूहमा परेर पनि खोप लगाउन छुटेका, विद्यार्थी, पर्यटन व्यवसायी, शिक्षक लगायतका पेशाकर्मीहरु यस खोपको प्रथमिकतामा परेको दाहालले बताए । यसअघि कोभिशील्ड २४ लाख ४८ हजार, भेरोसेल ७४ लाख, जोन्सन एन्ड जोन्सन १६ लाख, एस्ट्राजेनेका १७ लाख ७७ हजार ३२० मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ ।

नेपालमा हालसम्म १ करोड ३३ लाख डोज खोप प्राप्त भएको छ । जसमध्ये ५० लाख डोज खोप खरिद गरिएको हो भने बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भदौ ३१ को तथ्यांक अनुसार हालसम्म देशभर ५४ लाख ७३ हजार १५१ जनाले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै ६० लाख ५७ हजार १९४ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।