काठमाण्डौं । नेकपा एमालेकी उपाध्यक्ष एवं वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमालेलाई बलियो बनाउन सबैले फराकिलो मन बनाउने बेला आएको बताउनु भएको छ ।

आज नेकपा एमाले काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले पार्टी विभाजनले कसैको हित नगर्ने भएकोले हिजोको एमाले बनाउनका लागि अब सबैले मन फराकिलो बनाउनुपर्ने बताउनुभएको हो । उहाँले अन्तरपार्टी संघर्षलाई अघि बढाउँदै पार्टीले जारी गरेका १२ वटा अन्तरपार्टी निर्देशनको अक्षरशः पालना गर्न नेतृत्वलाई आग्रह गर्नुभयो । नेतृ शाक्यले माधव नेपाललाई एमालेमै फर्किन आग्रह समेत गर्नुभयो ।

एमालेको नवौं महाधिवेशनमा २ वटा प्यानल बनाएर चुनाव लड्दा अहिले हार्नेहरुले गुटबन्दी बनाएको भन्दै उहाँले अब प्यानलगत चुनाव गर्न नहुने बताउनुभयो । नेकपालाई जनताले झण्डै दुई तिहाईको बहुमत दिएपनि पार्टीले जनमतको सम्मान गर्न नसकेको उहाँको भनाई थियो ।