काठमाडौँ l नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्ता गठबन्धनले मुलुकमा प्रारम्भ भएको आर्थिक विकास र समृद्धिको अभियानलाई अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् ।

गठबन्धन संविधान, कानुन र लोकतान्त्रिक मूल्य मान्यता विपरीतका गतिविधिको बाहक भएकोसमेत उनले बताए । ‘यो गठबन्धनले मुलुकमा प्रारम्भ भएको आर्थिक विकास समृद्धिको अभियानलाई अवरुद्ध गर्न खोजेको छ । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतालाई कमजोर बनाउन खोजेको छ । समाजमा अस्तव्यस्तता र अराजकतालाई बढावा दिएको छ । देश विकासका लागि जागृत भएका सपनाहरुलाई फेरि मुर्छित बनाउन खोजेको छ,’ नेता पोखरेलले भने, ‘त्यसकारण म भन्न चाहान्छु, यो अवसरवादी र अनैतिक गठबन्धन हो । यसलाई जस्ताको त्यस्तै बुझ्नुपर्दछ ।’

नेता पोखरेलले कार्यदलले दिएको १० बुँदे सुझावलाई नेतृत्वले त्यहीँ कारण स्वीकार गरेको बताए । ‘हामीले कार्यदलले दिएको सुझावलाई सिर्जनात्मक ढंगले, रचनात्मक ढंगले लागू गर्नुपर्छ भन्ने हाम्रो प्रतिबद्धता हो । त्यो प्रतिबद्धताबाट पार्टी नेतृत्व पछि हट्दैन । किन भने हामीलाई पार्टी एकता चाहिएको छ,’ उनले भने । उनले अबको एमालेलाई ०७५ जेठ २ को एमाले मात्रै नबुझेर विकसित एमाले, परिवर्तित र एकतासहितको एमाले हो भनेर बुझ्न आग्रह गरे ।