काठमाडौं। अफगानिस्तानमा करिब १ महिनाको उतारचढावपछि कलेज र विश्वविद्यालयमा पढाइ सुरु भएको छ । तालिबानले छात्राहरुलाई पढ्न अनुमति दिएको छ तर उनीहरुले कडा प्रतिबनधको पालना गर्नुपर्नेछ ।

सोमबार मजार–ए–शरीफस्थित इब्न–ए–सीना विश्वविद्यालयको कक्षाकोठाको तस्वीर सार्वजनिक भएको छ । फोटोमा कक्षाकोठालाई पर्दाको प्रयोग गरेर २ भागमा विभाजन गरिएको छ । पर्दाले छुट्याएको एकतर्फ छात्र र अर्कोतर्फ छात्राहरु बसेका छन् ।

तालिबानले छात्राहरुलाई पढ्न अनुमति दिएको छ तर कलेज वा विश्वविद्यालय जाने हरेक छात्राले अनिवार्य नकाब लगाउनुपर्नेछ । निजी विश्वविद्यालयमा पढ्ने छात्राहरुले बुर्का लगाउनुपर्नेछ ।

हरेक छात्राहरुले धेरैजसो समय आफ्नो अनुहार ढाकेर राख्नुपर्नेछ । अफगानिस्तानमा तालिबान राजभन्दा पहिले निकै कम महिलाहरु बुर्का वा नकाब लगाएका देखिन्थे तर अब तालिबानको नियन्त्रणपछि लगभग सबैजसो महिलाहरुले बुर्का वा नकाब लगाउन थालेका छन् ।

तालिबानले महिलाहरुलाई यस्तो नकाब लगाउन भनेको छ जसले अनुहारको धेरैजसो भाग ढाकियोस् । तालिबानले १५ अगष्टमा काबुलमा कब्जा गरेपछि छात्राहरुको शिक्षाका विषयमा केही आदेश दिएको थियो ।

आदेशअनुसार छात्र र छात्राहरु एउटै कक्षामा बसेर पढ्न पाउने छैनन् । आदेशमा छात्रा र छात्रहरुको लागि छुट्टै कक्षाको व्यवस्था हुनुपर्ने र छात्राहरुलाई महिला शिक्षकले मात्र पढाउन सक्ने भनिएको थियो ।

तालिबानले कलेज र विश्वविद्यालयहरुलाई महिला शिक्षा भर्ना गर्न र यसो गर्न नसकिने अवस्था भएमा वृद्ध पुरुष शिक्षकले छात्राहरुलाई पढाउन सक्ने भनेको थियो ।

तर, यसरी छात्राहरुलाई पढाउने वृद्ध शिक्षकको रेकर्ड राम्रोसँग जाँच गरिने भनिएको थियो । छात्राहरुको कक्षा छात्रहरुको भन्दा ५ मिनेट पहिले नै सकिने र छात्रहरु कक्षाबाट बाहिर निस्किँदा सबै छात्राहरु गइसकेको हुनुपर्ने आदेश दिइएको थियो ।