रोङ गाउँपालिकामा प्रविधिमैत्री शिक्षक समाज गठन भएको छ । “बालबालिकाहरू इच्छुक छन्, हामी तत्पर छौं, प्रविधिमैत्री शिक्षा, आजको आवश्यकता” भन्ने नाराका साथ स्थापना भएको प्रविधिमैत्री शिक्षक समाजको रोङ गाउँपालिकाको प्रथम गाउँसभा तथा गाउँ कार्य समिति गठन सम्पन्न भएको छ ।

समितिको अध्यक्ष भूपाल खड्का चयन भएका छन् भने उपाध्यक्ष सरिता राई, सचिव कुमार मगर, सह(सचिव सुलता खड्का, कोषाध्यक्ष ठाकुर श्रेष्ठ, सदस्यहरू नन्दलाल शिवाकोटी, रोशन चाम्लिङ राई, मिलन राई, प्रेमबहादुर खड्का र घना प्रधान चयन भएका छन् ।

रोङ गाउँपालिकाको भौगोलिक क्षेत्र तथा सबै क्षेत्र समावेश गरी समिति गठन भएको छ । नव गठित समितिलाई सपथ ग्रहणका साथै बधाई तथा कार्य सफलताको शुभकामना कार्यक्रम पनि सम्पन्न गरिएको छ ।

यो कार्य समिति देशभरको स्थानीय तहहरु मध्ये तेस्रो तथा गाउँपालिकाहरुमध्ये पहिलो पटक रोङ गाउँपालिकामा गठन भएको हो । यसअघि धनकुटा र सूर्योदय नगरपालिकामा गठन भइसकेको छ ।

कार्यक्रममा नवनियुक्त अध्यक्ष भूपाल खड्काले कक्षाकोठामा प्रविधि पुर्‍याउन यो कार्य समितिले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने र समितिले छिट्टै कार्ययोजना बनाएर प्रविधिमैत्री शिक्षण कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । आजको युगमा प्रविधिको आवश्यकता भएकाले प्रविधियुक्त शिक्षण गर्न आवश्यक रहेको पनि कार्यक्रमका वक्ताहरूले बताएका छन् । भर्चुअल माध्यमबाट भएको कार्यक्रमको सञ्चालन कुमार मगरले गरेका थिए ।

कार्यक्रमको खुला सत्रमा प्रविधिमैत्री शिक्षक समाज रोङ गाउँपालिकाका प्रथम गाउँसभा भेला तदर्थ समितिका संयोजक मेगराज गड्तौलाको सभापति रहेको कार्यक्रमको प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई इलामका प्रमुख शम्भुनाथ थापा मगर, विशिष्ट अतिथि प्रविधिमैत्री शिक्षक समाज नेपालका परिकल्पनाकार तथा केन्द्रीय अध्यक्ष भूपति बस्याल, विशेष अतिथि रोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराई, प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय प्राविधिक समितिका धनश्याम अधिकारी, माधव भट्टराई, बालकुमार रेग्मी, संजय खत्री तथा अतिथिहरू काजीमान एक्तेन, उमेश बुढाथोकी, भरत अधिकारी, विवेकचन्द्र पौडेल, खेमराज लिम्बू, रमेश पौडेल रहनुभएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मगरबाट भएको थियो भने स्वागत मन्तव्य विजयकुमार ढकालबाट भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई इलामका प्रमुख शम्भुनाथ थापा मगर, प्रविधिमैत्री शिक्षक समाजका परिकल्पनाकार तथा केन्द्रीय अध्यक्ष भूपति बस्याल, रोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराई, सरस्वती माध्यमिक विद्यालय रोङ ४ का प्रधानाध्यापक प्रेमबहादुर राई, कतात इलामका सचिव रमेश पौडेल, खेमराज लिम्बूले दिनुभएको थियो ।

मन्तव्यको क्रममा कक्षाकोठामा पठनपाठनका निम्ति प्रविधि पुर्‍याउन गाउँपालिकाले कुनै पनि कसुर बाँकी नराख्ने र यो विषम परिस्थितिमा प्रविधिमैत्री रूपमा शिक्षण गर्न रोङ गाउँपालिका भित्र रहेका विद्यालयहरूमा अहम् रूपमा गाउँपालिकाले साथ दिने कुरा पनि प्रमुख प्रशासकीय अधिकृत भट्टराईले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।