काठमाडौँ– बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले जित हात पारेको छ । बंगलादेशविरुद्ध नेपाल २-१ गोल अन्तरले विजयी भएको हो ।

पहिलो पटक दशरथ रंगशालामा उत्रिएको नेपाली महिला टोलीले विजयी शुरुवात गरेको हो । नेपालको जितका लागि राष्ट्रिय टोलीमा डेब्यु गरेका सविता राना मगर र प्रीति राईले १-१ गोल गरेका हुन् ।

खेलको १४ औँ मिनेटमा गोल गर्दै सविताले नेपाललाई अग्रता दिलाइन् । उनले पुजा रानाको क्रसमा हेड गोल गरिन् । त्यस्तै खेलको २४ औँ मिनेटमा प्रिती राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन् । सरु लिम्बुको पासमा प्रितीले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएकी हुन् ।

पहिलो हाफ सकिँदासम्म बंगलादेशले पनि केही गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । बंगलादेशविरुद्ध नेपाली खेलाडी हाबी देखिएका थिए । तर, दोस्रो हाफको ८३ औँ मिनेटमा परिवर्तित खेलाडी तोहोरा खातुनले जवाफी गोल गर्दै २-१ को स्थितिमा पुर्‍याएकी थिइन् ।

यसपछि पनि दुबै टोलीका खेलाडीले गोल गर्ने अवसर प्राप्त गरे पनि बललाई जाली चुमाउन सकेनन् ।

आजको खेलमा मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले सविता र प्रीतिलाई डेब्यू गराएका थिए । डेब्यु खेलमै उनीहरुले दुबै जनाले उत्कृष्ट प्रदर्शन गरे ।

भारतमा आयोजना हुने एएफसी महिला एसिया कप–२०२२ छनोटको तयारीस्वरुप नेपाल र बंगलादेश महिला फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेलेको हो । दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।