काठमाण्डौ । घरेलु टोली नेपाल पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले भारतसँग १–१ गोलको बराबरी खेलेको हो । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको हो । घरेलु दर्शकसामु खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । भारतका चिन्गेलसना सिंह कोनसामको ब्याक पासमा अन्जनले गोल गरेका थिए । तर, खेलको ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

भारतका कप्तान सुनिल क्षेत्रीको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङ बचाएका थिए । अब नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।  साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ सम्म हुनेछ ।००००