काठमाण्डौ । स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले आगामी असोज दोस्रो हप्ताभित्र कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निषेधाज्ञा खुकुलो र चाडपर्व सुरु भएसँगै जनस्वास्थ्यका मापदण्ड विपरित चहलपहल बढेका कारण तेस्रो लहरको जोखिम बढेको बताउनु भएको हो । गतवर्ष निधेषाज्ञा खुला भएसँगै सर्वसाधारणले जनस्वास्थ्यमा मापदण्ड लागू नगरेकाले गत चैतमा दोस्रो सातादेखि दोस्रो लहरको संक्रमण फैलिएको थियो । अहिलेपनि नेपालमा कोरोनाको डेल्टा भेरियन्ट संक्रमण तिब्र गतिमा बढिरहेको छ । प्रवक्ता पौडेलले अहिले नेपालमा समुदायस्तरमा कोरोना संक्रमण फैलिरहेको बताउनुभयो ।

उहाँले ५/६ महिना अघि खोप लगाएका मानिसको पनि रोग प्रतिरोधात्मक क्षमता घटेकाले तेस्रो लहरसँग सचेत हुनुपर्ने बताउनुभयो । हाल नेपालमा दैनिक पीसीआर परीक्षणमध्ये १९.५ प्रतिशतको हाराहारीमा संक्रमण देखिएको छ । संक्रमित सबैले परीक्षण नगराउँदा पनि संक्रमणको यकीन तथ्याङ्क बाहिर नआएको मन्त्रालयले जनाएको छ ।००००