एजेन्सी । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। 

तालिबानको लगातार जीतकाबीच अफगानिस्तानका राष्ट्रपति  घानीले त्यहाँका जनतामाथि युद्ध नथोपरिने पनि बताएका छन्। 'हामीले पछिल्ला २० वर्षमा जो हासिल गरेका छौँ, त्यसलाई गुमाउन दिँदैनौँ', उनले भने, 'हामी अफगानको अझै हत्या हुन दिँदैनौँ। सार्वजनिक सम्पत्ति नष्ट हुन पनि दिने छैनौँ।'

अफगान राष्ट्रपतिले रेकर्ड गरिएको एक सन्देशमा आफूहरुलाई जनताको भविष्यको चिन्ता रहेको पनि उल्लेख गरेका छन्। 'म तपाईंहरुलाई विश्वास दिलाउँछु, राष्ट्रपतिका रुपमा मेरो ध्यान देशमा अस्थिरता, हिंसा र जनताको विस्थापन रोक्नेमा हुनेछ', उनले भनेका छन्। 

राजीनामाबारे मौन 

घानीको यस सम्बोधन पहिले उनले राष्ट्रपति पदबाट राजीनामा दिने अनुमान गरिएको थियो। तर उनले आफ्नो सन्देशमा पद छोड्ने या राजीनामाबारे कुनै टिप्पणी गरेनन्। 

'अहिलेको अवस्थामा अफगानिस्तानका सुरक्षाबल र सेनालाई एकजुट बनाउनु हाम्रो पहिलो प्राथमिकता हुनेछ', उनले भनेका छन्। उनले अफगानिस्तानको स्थितिबारे स्थानीय नेता र अन्तरराष्ट्रिय सहयोगीहरुसँग निरन्तर संवाद भइरहेको पनि बताएका छन्। 

अफगानिस्तानस्थित सञ्चारमाध्यमहरुले राष्ट्रपति अशरफ घानीको सन्देशबाट उनी पद त्याग्न तयार नरहेको प्रष्ट भएको बताएका छन्। 'अशरफ घानी तालिबानविरुद्ध सुरक्षाबललाई फेरि एकजुट बनाउने कोसिसमा लागेका छन्', बिबिसीले भनेको छ, 'तर सरकारको समग्र अवस्था हेर्दा एकदमै आत्तिएको दृश्य देखिएको छ।'

अफगान सरकारले काबुलमा तालिबानको कब्जा भन्दा लडाइँको डरले सर्वसाधारण चिन्तित छन्।