काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउन छुटेकाहरुले अब छिट्टै दोस्रो मात्रा लगाउन पाउने समेत बताउनुभयो । 

आज स्वास्थ्य मन्त्रालयको सय दिने कार्ययोजना सार्वजनिक गर्न आयोजित भर्चुअल प्रेस मिटमा मन्त्री श्रेष्ठले६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले अबको करिब १७ दिनपछि दोस्रो मात्रा लगाउन पाउने उहाँको भनाई छ । जापानमा ओलम्पिक सकिएलगत्तै एष्ट्रेजेनेकाको खोप नेपाल आउने र खोप आएको ३ दिन भित्रमा सरकारले वितरण गर्ने उहाँको भनाई छ । राज्यमन्त्री श्रेष्ठले असोज मसान्तसम्म २ करोड डोज खोप आइपुग्ने समेत बताउनु भयो ।

असोज महिनाको अन्त्यसम्म २ करोड डोज खोप आपूर्ति सुनिश्चित भइसकेको उहाँको भनाई छ । राज्यमन्त्री श्रेष्ठले खोप वितरण तथा व्यवस्थपनमा प्राथमिकता दिएको बताउँदै कुल ५ करोड डोजभन्दा बढी खोप आपूर्तिका लागि सरकारले तयारी गरेको बताउनुभयो । कोभ्याक्स सुविधा  अन्तर्गत १ करोड १३ लाख, कोभ्याक्सको लागत सहभागितामा १ करोड ५० लाख मध्ये ४० लाखको भुक्तानी भइसकेको र १ करोड १० लाखको भुक्तानी प्रक्रियामा रहेको उहाँको भनाई छ ।

यस्तै, बालबालिका लक्षित फाइजर कम्पनीबाट ६० लाख खोप गरी ३ करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । राज्यमन्त्री श्रेष्ठले वयस्क तथा किशोर–किशोरीसमेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोन्सन एण्ड जोन्सन खोप ५० लाख, फाइजर ४० लाख र एस्ट्राजेनेका २० लाख गरी कुल १ करोड ५० लाखमात्रा खरिद प्रक्रिया सुरू भइसकेको समेत बताउनुभयो ।००००