काठमाडौं। उखु किसानहरूले चिनी मिलबाट पाउनुपर्ने बक्यौता भुक्तानी नपाए आन्दोलन गर्ने घोषणा गरेका छन् ।   

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरूले विगतमा भएको सहमति पालना नभएको भन्दै बक्वयौता भुक्तानीको लागि तीन साताको अल्टिमेटम दिएका हुन् । उखु किसान संघर्ष समिति एवं नेपाल सरकार उद्योग मन्त्रालयवीच २०७७ पौष १३ गते दोस्रो पटक पाँचबुँदे सहमति भएको थियो ।

सहमति अनुसार २१ दिनभित्र उखु किसानहरूको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराउन उद्योग मन्त्रालयले जिम्मेवारी लिएको थियो । तर सम्पूर्ण रकम भुक्तानी नगराइएको संघर्ष समितिले जनाएको छ । उखु किसानहरूले दावी गरेको ९० करोडमध्ये २५ करोड रुपैयाँ उद्योग मन्त्रालयले विवादित भनी कार्यदलको प्रतिवेदन मार्फत् छिनोफानो गर्ने भनेपनि कार्यान्वयन नगरेको समितिको गुनासो छ ।

उखु किसानहरूसँग सम्बन्धित अन्य समस्याको बारेमा सम्झौता भएको १२० दिनपछि गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गर्ने भनि पनि नगरिएको समितिले बताएको छ । उद्योगी र सरकारबाट किसानहरूलाई कमजोर सम्झेर फेरि पनि रकम नदिने षड्यन्त्र भएको भन्दै पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्न बाध्य हुने समितिको चेतावनी छ ।

हेर्नुहोस् उखु किसानको विज्ञप्ति