सिन्धुलीमाढी। सिन्धुलीगढीको युद्ध संग्रहालय आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ । आज सिन्धुलीगढीमा एक औपचारिक कार्यक्रमबीच राष्ट्रपति भण्डारीले संग्रहालयकोे उद्घाटन गर्नु भएको हो ।

संग्रहालयको उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहलाय नेपालकै पहिलो युद्ध संग्रहालय रहेको बताउनु भयो । उहाँले नेपाललाई विश्वमा चिनाउने, नेपाली भनेर पहिचान दिलाउने स्थान सिन्धुलीगढी रहेको बताउनु भयो । त्यस कारण पनि ऐतिहासिक सिन्धुलीगढीलाई संरक्षण र संवर्द्धन गर्नु सम्पूर्ण नेपालीहरूको कर्तव्य रहेको उहाँले बताउनु भयो । जिर्ण र उपेक्षित रहेको सिन्धुलीगढीको मुहार युद्ध संग्रहालयले परिवर्तन भएको देख्न पाउँदा खुशी लागेको उहाँले बताउनु भयो । नेपालीका मात्रै सन्ततिले हैन अङ्ग्रेजका पुस्तालाई पनि सिन्धुलीगढी संग्रहालयले कौतुहल्ता जगाउने उहाँले बताउनु भयो । त्यस्तै संग्रहालयले पर्यटन विकासमा समेत टेवा पुर्‍याउने भएकाले संग्रहालयलाई थप व्यवस्थित गरी बैदेशिक रोजगारिमा जाने युवालाई स्वदेशमै रोजगारी दिलाउने प्रयत्न गर्न उहाँले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै युद्ध संग्रहालय निर्माण गर्ने बर्द बहादुर गण सिन्धुली र कमलमाई नगरपालिकालाई उहाँले आभार प्रकट गर्नु भएको छ । कोरोना माहामारीमा पनि अहोरात्र खटेर सम्झौता अगाबै निर्माण कार्य सम्पन्न गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो।

कलाघर सिन्धुलीका कलाकार उद्घाटन कार्यक्रममा पञ्चेबाजा बजाउँदै।

तस्विर: कलाघर सिन्धुलीको फेसबुक समूहबाट

कलाघर सिन्धुलीका कलाकार खैजडी भजन प्रस्तुत गर्दै।

तस्विर: कलाघर सिन्धुलीको फेसबुक समूहबाट

ऐतिहासिक सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्रहालयमा वीर गोर्खा फौज र अंग्रेज सेनाबीच विक्रम संवत् १८२४ मा भएको लडाइँलाई स्मरण गराउने सामग्रीहरू पनि राखिएको छ । तत्कालीन समयमा गोर्खा फौजले इस्ट इन्डिया कम्पनीका अंग्रेज फौजलाई हराएको थियो । कमलामाई नगरपालिका -३ मा अवस्थित सिन्धुलीगढीको युद्ध संग्रहलाय संघ, प्रदेश र स्थानीय सरकारको ७ करोड लगानिमा निर्माण गरिएको हो। आन्तरिक सजावट, योद्धाहरूको सालिक, तथा अन्य निर्माणमा नगरपालिकाले लगानी गरेको छ । सिन्धुलीगढी युद्ध संग्रहालको समुद्धघाटन कार्यक्रम कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, प्रधानसेनापति पुर्णचन्द्र थापा, संघीय सांसद गणेश पहाडी लगायतको उपस्थित रहेको थियो।

कार्यक्रममा कलाघर सिन्धुलीको समूहले युद्धकला प्रस्तुत गर्न खैजेडी भजन प्रस्तुत गरेको थियो । त्यस्तै, बर्द बहादुर गण सिन्धुलीका कलाकारहरूले राष्ट्रप्रेमी गितीकथा प्रस्तुत गरेका थिए ।