सिन्धुली। सरकारले आफैले आमसञ्चारगृह सञ्चालन गर्ने निर्णय फिर्ता लिन माग गर्दै आज पत्रकार महासंघ सिन्धुलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ। सरकारको उक्त निर्णय फिर्ता लिन माग गर्दै पत्रकार महासंघका अध्यक्ष कृष्णहरी घिमिरेले प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेमार्फत् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापन पत्र बुझाएको हो।

बागमती प्रदेश सरकारले नीजि तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाँटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजलाई दबाउने मनसायले लोकतन्त्रको मूल्य मान्यतालाई समेत उपवास हुनेगरि आफैँले सञ्चारमाध्यम खोल्न बजेट बिनियोजन गरेको प्रति नेपाल पत्रकार महासंघ सिन्धुलीले गम्भिर आपत्ति जनाएको छ। सरकारले महासंघ र सिङ्गो सञ्चार क्षेत्रले उठाएका विषयहरू सम्बोधन नगरी स्वतन्त्र प्रेस, लोकतन्त्रको मूल्य मान्यता विपरित सञ्चारगृह स्थापना गर्ने गरी बजेट ल्याउनु गलत रहेको महासंघको ठहर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

बागतमी प्रदेश सरकारले सञ्चालनमा रहेको आमसञ्चारमाध्यमलाई व्यवस्थापन र सहकार्य गर्नुको सट्टा उल्टै नयाँ सञ्चारगृह स्थापनाको लागि १० करोड बजेट विनियोजन गरेपछि पत्रकार महासंघले संघ, प्रदेश र जिल्लामा विरोध भईरहेको छ। आम श्रमजीवी पत्रकारको उक्त माग फिर्ता नगरे परकार महासंघ आगामी दिनमा अझ सशक्त चरणवद्ध रुपमा आन्दोलनमा उत्रने जनाइएको छ। सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले उक्त विज्ञप्ति मुख्यमन्त्री समक्ष पेश गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

आज बागमती प्रदेशका १३ वटै जिल्लाका पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।