सिन्ध्लीमाढी। नेपाल पत्रकार महासंघ बागमती प्रदेशका जिल्लाहरूले भोली प्रमुख जिल्ला अधिकारी मार्फत बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापनपत्र बुझाउने तयारी गरिएको छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि सार्वजनिक गरेको बजेट वक्तव्यमा प्रदेश सरकारको स्वायत्त संस्थाको रुपमा आमसञ्चारगृहहरू स्थापना गर्ने गरी बजेट विनियोजन भएपछि प्रदेश सरकारप्रति महासंघ रुष्ट भएको हो।

प्रदेश सरकारको उक्त निर्णय स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यता विपरित भएको भन्दै प्रदेश सरकारले उक्त निर्णय सच्याउनु पर्ने नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला शाखाहरूको माग रहेको छ। केन्द्र र प्रदेशको समन्वयमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्षको नेतृत्वमा ज्ञापनपत्र बुझाउन लागिएको बागमती प्रदेश समितिका अध्यक्ष शिव देवकोटाले बताए। सरकारले महासंघ र सिङ्गो सञ्चार क्षेत्रले उठाएका विषयहरू सम्बोधन नगरी स्वतन्त्र प्रेस, लोकतन्त्रको मूल्य मान्यता विपरित सञ्चारगृह स्थापना गर्ने गरी बजेट ल्याउनु गलत रहेको महासंघको ठहर छ ।

बागतमी प्रदेश सरकारले सञ्चालनमा रहेको आम सञ्चारमाध्यमलाई व्यवस्थापन र सहकार्य गर्नुको सट्टा उल्टै नयाँ सञ्चारगृह स्थापनाको लागि १० करोड बजेट विनियोजन गरेपछि चौतर्फि विरोध भईरहेको छ। आसञ्चारमाध्यमको प्रवर्द्धन र सञ्चारकर्मीको हितमा बजेट ल्याउन माग गर्दै सरकार आफैले आम सञ्चारगृह सञ्चालन गर्ने निर्णय फिर्ता गर्नुपर्ने दबाब मुलक कार्यक्रम स्वरुप भोली ज्ञापनपत्र बुझाउन लागिएको हो ।

देशभरदर्ता भएका सञ्चारमाध्यममध्ये ६६ प्रतिशत र नेपालपत्रकार महासंघको कुलसदस्य संङख्याको ४८ प्रतिशत बागमती प्रदेशभित्र छन् ।