सिन्धुलीमाढी। सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन उद्योग बाणिज्य संघ मरिण शाखाका अध्यक्ष र हास्यकलाकार दिनेश काफ्ले सहित राहत लिएर मेलम्ची पुगेका छन्। शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका बाढि पहिरो पीडितलाई राहत लिएर मेलम्ची पुगेका हुन्।

मरिण गाउँपालिकाका अध्यक्ष बम्जनले सिन्धुपाल्चोकका बाढिपहिरो पीडितलाई आफ्नो गाउँपालिकाको तर्फबाट तीन लाख आर्थिक सहयोग प्रदान गरेका छन्। शुक्रबार मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर अर्याललाई १ लाख ५० हजारको चेक हस्तान्तण गरेका हुन् । त्यस्तै हेलम्बु गाउँपालिकालाई १ लाख ५० हजारको चेक हस्तानतरण गरेका हुन्। हेलम्बु गाउँपालिकालाई भने पूर्व मन्त्री युबराज दुलालमार्फत चेक पठाइएको छ।  हरेक प्राकृतिक विपत्तिबाट सिन्धुपाल्चोकलाई क्षति पुगिरहेकाले गाउँपालिकाले पीडितहरूलाई यस अघि पनि सहयोग गदैँ आएको र यसपटक पनि सकेको सहयोग गरेको गाउँपालिका अध्यक्ष बम्जनले बताए । बम्जनले पीडितहरूको रक्षाका लागि प्रदेश सरकार र संघीय सरकारले यथाशिघ्र कदम चाल्नुपर्न बताए।

त्यस्तै, उद्योग बाणिज्य संघ मरिण शाखाले पनि सिन्धुपाल्चोकका बाढिपहिरो पीडितलाई १ लाख २ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। उद्योग बाणिज्य संघ मरिण शाखाका अधयक्ष चिनध्वज बम्जनले मेलम्ची नगरपालिकाका अध्यक्ष डम्बर बहादुर अर्याललाई ५१ हजार र हेलम्बु गाउँपालिकालाई ५१ हजारको चेक हस्तानतरण गरेका हुन्। सिन्धुपाल्चोकको अस्तब्यस्त परिस्थितीमा त्यहाँका पीडितहरूलाई सहयोग गर्न सम्पुर्ण व्यवसायीहरूलाई शाखाका अध्यक्ष बम्जनले अनुरोध गरेका छन्। त्यस्तै शुक्रबार नै हास्यकलाकार तथा मधुबन रेष्टुरेण्ट प्रालिका अध्यक्ष सिन्धुलीका स्थानीय दिनेश काफ्ले मेलम्ची गाउँपालिकालाई २४ हजार आर्थिक सहयोग गरेका छन्। उनले शुक्रबार मेलम्ची पुगेर नगर प्रमुख अर्याललाई चेक हस्तानतरण गरेका हुन्।

यही असार १ गते मेलम्ची र इन्द्रावति खोलामा बाढि आउँदा मेलम्ची नगरपालिकाका र हेलम्बु गाउँपालिका डुबानमा परेको छ । मेलम्ची नगरपालिकाका नगर प्रमुख अर्यालले नगरपालिकाले स्थापना गरेको ४० करोडको भौतिक संरचना सहित बस्ति डुबानमा पर्दा १ खर्ब बराबरको क्षति पुगेको बताए ।