फाइल तस्विर

सिन्धुलीमाढी। सिन्धुलीमा आज ६२ बर्ष देखि ६४ बर्ष उमेर समुहका ज्येष्ठ नागरिक लाई कोरोनाविरुद्धको पहिलो डोज खोप दिइएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशन तथा जिल्ला खोप समन्वय समितीको २४ गतेको निर्णय अनुसार ज्येष्ठ नागरिकलाई भेरोसेल पहिलो डोज खोप दिइएको हो ।

जिल्लाको कमलामाई र दुधौलीनगरपालिकामा खोप अभियान आजबाट सुरु भएको हो । दुबै नगरपालिकामा खोप अभियान भोलीसम्म सञ्चालन हुने जिल्ला अस्पतालका कोभिड पर्सन सागर देवकोटाले जानकारी दिए । उनका अनुसार जिल्लाको सात वटा गाउँपालिकामा भने भोली र पर्सी सञ्चालन हुनेछ ।

कमलामाई नगरपालिकामा आज १ सय ६२ पुरुष र १ सय ३३ महिला गरी २ सय ९५ जना ज्येष्ठ नागरिकले खोप लगाएका हुन् । त्यस्तै दुधौली नगरपालिकामा ५० जना पुरुष र ४२ जना महिला गरी ९२ जनाले खोप लगाएको कोभिड फोकल पर्सन देवकोटाले बताए ।

दुइवटा नगरपालिकामा गरी आज ३ सय ८७ जना ज्येष्ठ नागरिकले खोप लगाएका छन् । खोप लगाउनका लागि पाएक पर्ने स्वास्थ्य संस्था तोकिएको छ । कमलामाई नगरपालिमा सिन्धुली अस्पतालसहित ७ वटा खोप केन्द्र तोकिएको छ । दुधौलीमा १० वटा, गोलन्जोर गाउँपालिमा ७ वटा, घ्याङलेख गाउँपालिकामा ५ वटा, तीनपाटन गाउँपालिमा ८ वटा स्वास्थ्य केन्द्र तोकिएको जनाइएको छ । त्यस्तै फिक्कल गाउँपालिकामा ६ वटा, मरिण गाउँपालिकामा ३ वटा, सुनकोशी गाउँपालिकामा ५ वटा र हरिहरपुरगढिमा ४ वटा गरी जिल्लाभर २६ वटा स्वास्थ्य केन्द्रलाई खोप केन्द्रको रुपमा तोकिएको स्वास्थ्य कार्यलय सिन्धुलीका प्रमुुख जितेन्द्र शाहले बताए।