काठमाडौं। संविधान जारी भएपश्चात पहिलो पटक कामचलाउमा परिणत भएको बजेट पेश गर्ने भएको छ। सरकारले आज शनिबार अपरान्ह ४ बजे आगामी आ.व.को बजेट अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
बजेट सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट बजेट प्रस्तुत हुने कार्यक्रम रहेको छ । सरकारले संघीय सञ्तित कोष तथा अन्य सरकारी कोषबाट वार्षिक बजेट अनुरूप मात्रै खर्च गर्नु पर्ने व्यवस्था नेपालको संविधानले गरेको छ। संविधानको धारा ११९ मा बजेट सम्बन्धी व्यवस्था छ। सोही व्यवस्था बमोजिम जेठ १५ गते बजेट सार्बजनिक हुने परम्परा छ। संविधानमा सरकारले तयार गरेको अनुमानित आयव्यय विवरण प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्रीले पेश गर्ने र बजेटको छलफल पछि दुवै सदनबाट पास भएपछि कार्यान्वयन गर्ने व्यवस्था रहेको छ।
यस अघि आर्थिक वर्ष २०७०/७१ मा अध्यादेश मार्फत बजेट आएको थियो। त्यस वर्ष संविधान निर्माण हुन नसकेकै कारण संसद विघटन भएको अवस्थामा मन्त्रिपरिषद् मार्फत मुलुक अघि बढेको बेलामा खिलराज रेग्मीको पालमा अध्यादेश मार्फत बजेट प्रस्तुत भएको थियो । त्यस्तै, नेपालको बजेट इतिहासमा वि.सं. २०५२, २०५९, २०६०, २०६१, २०६२, २०६७ र २०६९ मा समेत अध्यादेश मार्फत नै बजेट आएको थियो।
संविधान जारी भएपश्चत अर्थ मन्त्री विष्णु पौडेलले पहिलो पटक आर्थिक वर्ष २०७३/७४ को बजेट संसदमा प्रस्तुत गरेका थिए भने उनै विष्णु पौडेलले फेरी अध्यादेश मार्फत पुन: बजेट प्रस्तुत गर्दै छन्।
नेपालमा वि.सं. २००८ सालदेखि बजेट प्रणालीको सुरुवात भएको हो । नेपालमा वि.सं. २००८ साल माघ २१ गते तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको पालामा तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरबाट सर्वप्रथम बजेट प्रस्तुत गरिएको थियो। त्यही वर्षदेखि हरेक आर्थिक वर्षको आय व्यको अनुमान सहितको बजेट प्रस्तुत हुँदै आएको छ। सुरुवाती समयमा बजेट राजपरिवार भित्रमै सीमित हुने गर्थ्यो। पहिलो बजेटको आकार जम्मा जम्मी ५ करोड २५ लाख २९ हजार रुपैयाँ थियो। २००७ सालमा प्रजातन्त्र आएपछि मात्रै जनप्रतिनिधिका बिचमा बजेट सार्वजनिक गर्न थालिएको हो। उक्त वर्ष देखिनै बजेट संसदमा प्रस्तुत गर्न थालिएको हो।
आज प्रस्तुत हुने बजेट नेपालको ७५ औँ बजेट हो। बजेट प्रस्तुत गर्न थालेको वर्षलाई गणना गर्ने हो भने २००८ साल देखि ७८ साल सम्म ७० वर्ष हुन्छ। तर यो बजेट भने ७५ औ बजेट हो। कुनै वर्ष वर्षमा दुई पटक सम्म बजेट आएका कारण यो ७५ औ बजेट हुन गएको हो।

