खाङसाङ। फिक्कल गाउँपालिकाले आज(शनिबार) देखि लागु हुने गरी गाउँपालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ। बैशाख २३ गते बसेको गाउँ कार्यापालिकाको बैठकले गाउँपालिका कार्यालय र मातहतका सम्पूर्ण वडाहरूबाट प्रवाह गरिने अत्यावश्यक बाहेकका अन्य सेवाहरू बन्द गर्ने जनाएको छ।
नयाँ भेरिएन्ट सहितको कोभिड १९ सङ्क्रम फैलिन नदिन र सङ्क्रमित रहेका स्थानहरूबाट चेनब्रेक गर्न गाउँपालिकाले निषेधाज्ञा जारी गरेको जनाएको छ।
यस अवधिमा खाद्यान्न, तरकारी तथा फलफुल, दुधडेरी, होटल तथा अन्य पसलहरू हरेक दिन बिहान ६ बजेदेखि १० सम्ममात्र खोल्न पाईने छ। घरबाट बाहिर निस्कनु परे अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले सभा, सम्मेलन, भिडभाड हुने सबैखाले धार्मिक कार्यक्रम पूर्ण रुपमा बन्देज गरेको छ। गाउँपालिका स्थित रहेको बैङ्क तथा वित्तीय संस्थालाई हप्ताको तीन दिन आईतबारदेखि मङ्गलबारसम्म खुल्न दिने गाउँपालिकाले सूचनामा उल्लेख गरेको छ।