काठमाडौं। टोखा नगरपालिकामा अक्सिजनसहित आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै शुक्रबारदेखि अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो ।
नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले वडा नम्बर २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ शय्याको आइसोलेसन सेन्टर निर्माण गरिएको जानकारी दिए। ‘डाक्टर र औषधिसहित निर्माण गरिएको आइसोलेसन केन्द्रमा आजैदेखि टोखाका कोरोना संक्रमित बिरामीको उपचार हुनेछ’, उनले भने।
बिरामीको अवस्था हेरेर उक्त स्वास्थ्य केन्द्रमा ५० शय्याको आइसोलेसन केन्द्र निर्माण गरिने उपप्रमुख डंगोलको भनाइ छ। सो नगरपालिकाले नगर उपप्रमुख डंगोलको संयोजकत्वमा आइसोलेसन सेन्टर व्यवस्थापन तथा अनुगमन समिति निर्माण गरी कोभिडका बिरामीको उपचारका लागि सम्भावित स्थानको अध्ययन गरिरहेको छ।
यस्तै, नपाले बढ्दो कोरोना संक्रमितलाई ध्यानमा राखेर अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको छ। नगरपालिकाले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)सँगको सहकार्यमा नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना संक्रमण देखिएसँगै वडा नम्बर ७ स्थित राधास्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना गर्न लागेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए।
‘अक्सिजन थेरापीसहित आइसोलेसन केन्द्र स्थापना भएसँगै अक्सिजनको मात्रा कम भएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहज हुन्छ,’ उनले भने। राधास्वामी भवनभित्र बन्न लागेको अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र ८० शय्याको हुने नगरपालिकाले जनाएको छ। उक्त नगरपालिकाभित्रका जनप्रतिनिधि तथा कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि वैशाख ३० गतेसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरिएको छ।
यस्तै, सो नगरपालिकाले दोस्रो चरणको कोरोनाबाट गम्भीर रहेका बिरामीको उपचारका लागि स्थानीय तहभित्रका निजी अस्पतालसँग सहकार्य गर्ने भएको छ। नपाले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुसी, विनायक अस्पताल तथा प्रसूतिगृह गोंगबुसँग टोखाभित्रका संक्रमित बिरामीलाई उपचारका लागि सहजीकरण गर्ने नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बताए।
उत्तरमा नुवाकोटसँग सीमा जोडिएको टोखामा ११ वडा छन् । उपप्रमुखको गाडीले कोरोना नभएका बिरामी बोक्ने नगर उपप्रमुख ज्ञानमाया डंगोलको गाडीले कोरोना नभएका बिरामी बोक्ने भएको छ। देशभर कोरोना संक्रमित बिरामी बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेपछि अस्पताल जान गाह्रो भएका बिरामी बोक्न उक्त गाडी प्रयोग गरिनेछ।
नगर उपप्रमुख डंगोलले डाइलोसिस, डेलिभरीलगायत अत्यावश्यक बिरामीलाई घरबाट अस्पताल लैजान तथा अस्पतालबाट घर ल्याउन आफ्नो गाडी प्रयोग गरिने जानकारी दिए। कोरोना महामारी र विपद्को समयमा जनताको सेवा गर्नु जनप्रतिनिधिको मुख्य धर्म हो, आफू गाडी प्रयोग नगरी बिरामीको सेवाका लागि आजैदेखि दिन्छु,’ उनले भने।रासस